तक्मे बुढा अर्थात विल्सन विक्रम राईको फिल्म ‘मैझारो’मा समावेश ‘साकेला नाचौँ’ सार्वजनिक
काठमाडौं, २२ असोज । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरिएको छ । दशैंको पूर्णिमाको अवसर पारेर सोमबार सार्वजनिक यस गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने पदम साधना कुलुङको शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत छ । राजु कार्की संगीत निर्माताको रुपमा छन् ।
गीतको भिडियोमा फिल्मका कलाकारहरु दयाहाङ राई, दीया पुन, धीरज मगर, मिरुना मगर, विल्सन विक्रम राई, रजनी गुरुङ लगायतले साकेला नाच प्रस्तुत गरेका छन् । यो नाच किराँत समुदायको प्रमुख सांस्कृतिक नृत्य हो । किराँतहरूले उधौली र उभौली पर्वको समयमा साकेला नाच्ने गरेका छन् । यसलाई साकेला सिली पनि भनिन्छ ।
लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित ‘मैझारो’मा बुद्धि तामाङ,सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । निर्देशक राई स्वयंको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि। गुरुङको सम्पादन छ ।
तक्मे प्रोडक्सन र हाइल्यान्डर क्रूको सहकार्यमा निर्माण भएको ‘मैझारो’का गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले सगीत भरेका छन् भने ब्याकग्राउन्ड स्कोर रोहित शाक्यले गरेका छन् । यो फिल्म भाइटीकाको अवसर पारेर आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ । दुई हप्ताअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
















प्रतिक्रिया दिनुहोस्