मञ्जुश्री र कुमारी नृत्यसँगै आमा याङ्ग्रीमा आध्यात्मिक पर्यटन यात्रा

सिन्धुपाल्चोक/ काठमाडौं, कार्तिक ३० । नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई आरोग्य पर्यटनसँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित पर्यटकीय गन्तव्य आमा याङ्ग्रीमा २०८३ साल कार्तिक २७ देखि २९ गतेसम्म योग, ध्यान, साउन्ड हिलिङ र सांस्कृतिक नृत्यसहितको पर्यटन कार्यक्रम सम्पन्न भएको छ।

४१ जनाको सहभागिता रहेको कार्यक्रमले नेपालको आरोग्य पर्यटनको सम्भावना उजागर गर्नुका साथै हिमाली गन्तव्यलाई स्वास्थ्य र आध्यात्मिक अभ्याससँग जोड्ने प्रयास गरेको छ।

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजित कार्यक्रमले योग, ध्यान तथा सांस्कृतिक पर्यटनलाई प्राकृतिक गन्तव्यसँग जोड्ने महत्त्वलाई प्राथमिकता दिएको थियो।

‘योगीको यात्रा: आरोग्यको खोजी’ नाम दिइएको उक्त कार्यक्रम न्यू भिजन नेपालको आयोजनामा सम्पन्न भएको हो। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोग र हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

न्यू भिजन नेपालका अध्यक्ष योगी अशोक शर्मा भट्टले आरोग्य पर्यटनको सम्भावनाबारे भने, ‘नेपालमा आरोग्य पर्यटनको सम्भावना योग र ध्यान अभ्यासमा मात्र सीमित छैन। हिमाल, प्राकृतिक वातावरण, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जीवनशैलीलाई एकीकृत गरेर पर्यटकलाई फरक अनुभव दिन सकिने सम्भावना नेपालसँग छ। योग, ध्यान र आरोग्यलाई प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोड्दै पर्यटनका नयाँ सम्भावना विस्तार गर्ने उद्देश्यले हामीले यस्ता कार्यक्रम गर्दै आएका हौँ।’

कार्यक्रममा योग तथा ध्यानको अभ्यास भट्टले गराएका थिए। उनले साउन्ड हिलिङ ध्यानको नेतृत्वसमेत गरेका थिए। न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र सदस्य देवन श्रेष्ठले पनि अभ्यासमा सहभागिता जनाएका थिए। कार्यक्रमको सहजीकरण संस्थाकी कोषाध्यक्ष सबनम खड्गीले गरेकी थिइन्।

योग, ध्यान र साउन्ड हिलिङसँगै कार्यक्रममा नेपाली मौलिक कला तथा संस्कृतिलाई पनि स्थान दिइएको थियो। सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन् भने राजामती महर्जनले कुमारी नृत्य प्रस्तुत गरेकी थिइन्। त्यस्तै, राजामती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। नृत्यको तयारी तथा संयोजनसमेत सबनम खड्गीले गरेकी थिइन्।

न्यू भिजन नेपालका महासचिव रूपक अर्यालका अनुसार संस्थाले आरोग्य, आध्यात्मिकता र पर्यटनलाई जोड्दै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले यसअघि सिन्धुपाल्चोककै पाँचपोखरी र रसुवाको गोसाइँकुण्डमा पनि योग, ध्यान तथा आध्यात्मिक पर्यटनसम्बन्धी कार्यक्रम गरेको थियो।

पाँचपोखरी र गोसाइँकुण्डपछि आमा याङ्ग्रीमा कार्यक्रम आयोजना गर्नुको उद्देश्य फरक प्राकृतिक तथा सांस्कृतिक गन्तव्यमा आरोग्य पर्यटनको सम्भावना पहिचान गर्नु रहेको अर्यालले बताए। उनका अनुसार संस्थाले यस्ता गतिविधिमार्फत नेपालको प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनका नयाँ अवसरसँग जोड्ने प्रयास गरिरहेको छ।

न्यू भिजन नेपाल सन् २०११ मा काठमाडौँमा दर्ता भएको गैरसरकारी संस्था हो। संस्थाले विभिन्न सामाजिक गतिविधिसँगै योग, ध्यान, आध्यात्मिकता र आरोग्य पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेसँगै यस क्षेत्रको सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने अवसर सिर्जना भएको छ। सरकारी अभियानसँगै निजी क्षेत्र, सामाजिक संस्था र पर्यटनसम्बद्ध निकायको सहकार्य हुन सके आमा याङ्ग्री, पाँचपोखरी र गोसाइँकुण्डजस्ता गन्तव्यलाई आरोग्य तथा आध्यात्मिक पर्यटनका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्