कीर्तिमानी संगीतकार श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो बजारमा

काठमाडौँ, २५ साउन। कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा स्वरांकन गरिएको बुद्धको देश नेपाल म्युजिक भिडियो आज लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार खेमनाथ दाहालको महाकाव्य श्वेतपत्रमा समावेश श्लोकमा आधारित उक्त भिडियोमा देशभक्ति,मानव कल्याण, सहअस्तित्व र शान्तिपूर्ण समाज निर्माणको सन्देश प्रवाह गरिएको हो।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलपति कुलप्रसाद कोइरालाले हिमाललाई नायक बनाएर सृजना गरिएको साहित्यमा आख्यान सृजना गरेर शक्तिशाली संगीतको प्रयोग गरिएको उक्त भिडियोले सामाजिक रहेकाले विविधतायुक्त मुलुकमा एकता तथा बुद्धको शान्ति, करुणा, मेलमिलापको सन्देश प्रवाह गर्ने बताउनुभयो।

राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष पुरुषोत्तम दाहालले नेपाली भावना र भुगोलसँग सम्बन्धित रहेको भिडियोले आन्तरिक विवाद गर्नु नहुने, विभिन्न जातजाति समुदायका नेपाली जहाँ भएपनि एकीकृत हुनका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

महाकाव्यकार खेमनाथ दाहालले ३६४ पृष्ठको श्वेतपत्र कृतिमा विश्व परिवेशमा हिमवत्खण्डको ऐतिहासिक महत्व तथा त्यसमा जोडिएका भौगोलिक अवस्थितिलाई साहित्य मार्फत उजागर गरिएको बताउँदै कृतिमा अहिलेसम्म ३४ जनाले समीक्षा गरेको जानकारी दिनुभयो।

कीर्तिमानी संगीतकार श्रेष्ठले संगीतको स्पर्शले साहित्यलाई थप सशक्त बनाउने विचार व्यक्त गर्दै श्वेतपत्र महाकाव्यमा गायन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो।

पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले श्वेतपत्र महाकाव्य र भिडियोको समीक्षा गर्दै तीनले नेपाली साहित्यलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

वरिष्ठ पत्रकार कृष्ण भुसाल, वरिष्ठ संगीतकार राजु सिंहलगायतले सामाजिक एकता सुदृढ गर्न श्वेतपत्र महाकाव्यबाट निर्माण गरिएको म्युजिक भिडियोको सराहना गर्दै यसमा नाटक मञ्चन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्