ऊनको स्वीटर फिल्मलाई क्यूएफएक्सले गर्‍यो ‘सुपरहिट’ घोषणा

काठमाडौं,१३ जेष्ठ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले दुई वर्षदेखि व्यापारको आधारमा फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आइरहेको छ । कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ । पछिल्लोपटक क्यूएफएक्सले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको थियो ।

करिब ७ महिनापछि क्यूएफएक्स चेनले अर्को नेपाली फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको छ । त्यो फिल्म हो, ‘ऊनको स्वीटर’ । क्यूएफएक्सले सोमबार यो फिल्मलाई उक्त ट्याग दिएको हो । यसको अर्थ फिल्मले पहिलो सातामा यो चेनमा डेढ करोडमाथि कमाइ गरेको छ । यसले फिल्मको सफलतालाई दर्शाउँछ । अहिलेसम्म फिल्मको देशव्यापी कमाइ आठ करोड नाघिसकेको छ ।

यस वर्षको पहिलो हिट फिल्म बनेको ‘ऊनको स्वीटर’ले व्यावसायिक सफलता प्राप्त गर्नुमा गीतसंगीतको भूमिका महत्त्वपूर्ण मानिएको छ । यस फिल्मका गीत दर्शकमाझ लोकप्रिय हुँदा त्यसको प्रभाव व्यापारमा देखियो । सुरुवातका केही दिन गीतले युवापुस्ताका दर्शकलाई हलसम्म तानेको थियो ।

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा पनि फिल्मको देशव्यापी शो उत्साहजनक छ । लगभग डेढ सय शो गरेको छ । यी शोमा अकुपेन्सी दर पनि सुखद् छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘लाइफटाइम कलेक्सन’ १० करोड पुग्न सक्ने देखिन्छ । नेपालमा फिल्मले राम्रो व्यापार गरेपछि यतिबेला विदेशमा समेत माग बढेको छ । अहिले थुप्रै देशमा फिल्म प्रदर्शन भैरहेको छ ।

नवीन चौहानको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा सुजन चापागाईंको संगीत छ । यसमा समाविष्ट तीन गीत ‘मखमली’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’ र ‘फूल’ अहिले चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्