पहिरोमा पुरिँदा बागलुङ र प्युठानमा ३ जना बेपत्ता
काठमाडौं । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन्। गौमुखी गाउँपालिका ४ को साबिक पुजा गाविस पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले ३ घरगोठ पुरिएको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।
स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर पुरिएको हो। पहिरोमा परेर ३५ वर्षीय झगे विक बेपत्ता भएका छन्।
सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसी समेत बेपत्ता भएको स्थानीयले बताए। उनीहरुका अनुसार मध्यरातमा खसेको पहिरोका कारण अन्य ७ वटा घरसमेत उच्च जोखिममा छन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक सहितको उद्धार टोली घटनास्थलतर्फ गएको प्रजिअ गैरेले बताए।
यस्तै बागलुङको निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन्।
पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए। घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ।
गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्