गरिब परिचय पत्र लिन आएका सार्कीलाई खोलाले बगायो, अझै बेपत्ता

काठमाडौं । प्युठानमा झिमरुक खोलाले बगाएर सोमबार एकजना बेपत्ता भएका छन् । झिमरुक खोलाले बगाएर बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–७ का ६२ वर्षाीय बाटुले सार्की छन् ।

सोमबार दिउँसो करिब ३ बजेको आसपास बेपत्ता भएका सार्की बेलुकासम्म घर नफर्केपछि खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।

सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडक खण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचय पत्र लिन आएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएको खबर तत्कालै प्रहरी र प्रशासनलाई जानकारी गराए पनि समयमै घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा ढिलाई भएको वडा अध्यक्ष गोपाल गिरीले जानकारी दिए ।

मंगलबार बिहानैदेखि उनको खोजी कार्य गर्ने भनिए पनि वर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको उनले जानकारी दिए ।

त्यस खोलामा निर्माणाधीन पुल समयमै नबन्दा बर्सेनि २(३ जनाको खोलाले बगाएर ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्