अनुगमन स्थलमै खाद्य बस्तुको परिक्षण गर्ने प्रविधि भित्रियो

काठमाडौं, १८ श्रावण । खाद्य बस्तुमा भएको मिसावट, नात तौलमा ठगी, कालाबजारीको बिगबिगीले गर्दा उपभोक्ताहरु मरमा परेको जनगुनासो व्यापक आउन थालेपछि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

उपभोक्ता ठगिनबाट बचाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने प्रविधि भित्र्याएको छ ।

बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागिएको विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए ।

बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्ट्याउन घुम्ती ल्याबसहितको भ्यानको व्यवस्था सञ्चालन गरि ‘अन द स्पट’ (ठाउँको ठाउँ) परिक्षण गर्न लागिएको हो । बजार तथा होटल तथा रेस्टुरेन्टमा अखाद्यवस्तुको मिसावटका साथै खाना, खाजा, दूध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु, खाद्य वस्तुमा प्रयोग हुने रङको नमूना संकलन गरेर तत्कालै ल्याब परीक्षण गर्न महानिर्देशक कर्णले बताए ।

उनले भने, ‘ खाद्य वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ । ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितका उपकरण जडित तीनवटा भ्यान विभागले सञ्चालनमा ल्याईसकेको छ । दैनिक रुपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न सकिन्छ । खाद्यवस्तु गुणस्तरीय खानयोग्य भए, नभएको तुरुन्त पत्ता लगाउन सकिनछ । यहि उपकरणसहितका भ्यान प्रयोग गरि घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्छौ । ’

अनुगमनको लागि विभागको टोली विभिन्न नगरपालिका, गाउँपालिका, बजार, नाका क्षेत्रमा घुम्ती ल्याबमार्फत अनुगमन गरेपश्चात त्यहीँ परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्ने योजना छ ।

विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करिब ६ करोड रुपैयाँ लगानीमा उपकरणसहित गाडी ल्याएको छ । गाडीमा उपकरण जडान भइरहेको महानिर्देशक कर्णले बताए । कर्णका अनुसार साउन महिनादेखि नै घुम्ती ल्याबसहित अनुगमन सुरु गर्ने तयारी छ । ‘उपकरण जडान र जनशक्तिलाई तालिम दिने काम तिव्र गरितमा गरिरहेका छौं,’ उनले भने, ‘अब उपभोक्ता ठग्नेलाई तुरुन्त कानूनी दायरामा ल्याउछौं ।’

यसपछि बजार अनुगमनमा जाने विभागको टोलीले नमुना संकलन गरेर परीक्षणको लागि अफिस आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । उपत्यकासहित विराटनगर, धनगढी लगायत प्रमुख सहरमा घुम्ती अनुगमन सुरु गर्ने विभागको तयारी छ । ‘विभागले भ्यानमा प्राविधिकसहित कर्मचारी खटाएर अनुगमन गर्छ,’ कर्णले भने, ‘उपभोक्तालाई गुणस्तरहीन खाद्यान्न उपभोगबाट जोगाउनु मुख्य ध्येय हो।’

उपभोक्तालाई जागृत गर्नको लागि भ्यानमा सुरक्षित खानाका पाँच सन्देश पनि लेखिएको छ । यसबाट उपभोक्ता ठगिइरहेको बेला अनुगमन गरेर तत्काल कारबाही गर्न सहयोग पुग्नेछ । अनुगमन गरेर छिटो–छरितो नतिजा दिने विभागको तयारी हो । गुणस्तर मापदण्डका आधारमा हरेक खाद्य वस्तुको परीक्षण हुन्छ । यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुनेछ ।

विभागका अनुगमनमा चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी, ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट, पानीमा पिए बढी, दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दूषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दासमेत दायर गरेको छ ।

तरकारीको नमुना संकलन गरेर विषादीको मात्रा मापन गरी खानयोग्य छ, छैन सिफारिस गर्नुपर्ने विभागले काठमाडौंको कालीमाटीमा मात्र तरकारी परीक्षण गरेकोमा अब अन्यत्र पनि परीक्षण गर्न सजिलो भएको छ ।

विभागको अनुगमन अनुसार दैनिक उपभोग्य वस्तु १० प्रतिशत अखाद्य भेटिएका थिए । मानव स्वास्थ्यमा असर पुर्याउने खाद्य वस्तु बिक्री गर्नेलाई कठोर दण्ड नदिँदा दोषीको मनोबल बढेको सरोकारवाला बताउँछन् । सबै नाफा कमाउने ध्येयमा लाग्दा मानव स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने क्रम बढेकोले कडाइ गर्न लागेको विभागले जनाएको छ । अखाद्य वस्तु उत्पादन गर्नेलाई पनि निरुत्साहित गर्ने विभागको रणनीति छ ।

त्यसतै विभागले काठमाडौंमा दूध आउने प्रमुख चार नाकामा घुम्ती टोली खटाएर परीक्षण गरेको छ । थानकोट, ललितपुर, नुवाकोट, काभ्रेबाट आउने नाकामा परीक्षण सुरु गरेको महानिर्देशक कर्णले बताए । ‘काठमाडौं उपत्यकामा भित्रिने दूधको गुणस्तर कायम गर्ने विभागको उद्देश्य हो,’ उनले भने, ‘कच्चा दूध परीक्षण सुरु गरेका छौं ।’ विभागले दूध बजारलाई व्यस्थित गर्न निर्देशिका पनि जारी गर्ने तयारी गरेको छ ।
यस भन्दा अघि विभागले गर्ने अनुगमन चाहि अनुगमन मात्रै भएको थियो । त्यसले कुनै सार्थक परिवर्तन आएको पाइदैन । हाल विभागले ल्याएको भ्यानसहितको ल्याव परिक्षणको सहि सदुपयोग गरे त यसले उपभोक्ता मारमा नपर्ने विश्वास गर्न सकिन्छ । यसलाई पनि कर्मचारी र उपभोक्ता हितवादी संस्था, एवं व्यवसायीको मिलेमहतोमा यस ठाउँको ठाउँ परिक्षण गर्ने ल्याव सहितको भ्यान बिगार्ने प्रवृति पनि छ । हामी कहाँ प्रविधि त आयो तर यसको प्रयोग र परिणाम आउन भने केहि समय भने पक्कै लाग्छ ।

प्रतिक्रिया दिनुहोस्