६ करोड धरौटी पुर्याए व्यवसाय बन्द गर्ने म्यानपावरको चेतावनी
काठमाडौँ । सरकारले धरौटी रकम बढाएर ६ करोड पुर्याउने तयारी गरेको विरोधमा म्यानपावर व्यवसायीले आन्दोलन गर्ने भएका छन् । आन्दोलनको विषयमा छलफल गर्न बुधबार म्यानपावर व्यवसायीहरुको भेला बोलाइएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।
व्यवसायीले यसअघि आफुले पठाएका कामदारको जिम्मा सरकारले लिनुपर्ने, म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र विदेशमा रहेका व्यवसायीका शाखा कार्यालयको क्षतिपूर्ति माग गर्ने तयारी गरेका छन् । म्यानपावर कम्पनीमा १ लाख २० हजार कर्मचारी कार्यरत रहेको संघका अध्यक्ष गुरुङले बताए । आफूहरुले लाइसेन्स बुझाएपछि उनीहरु बेरोजगार हुन नहुने व्यवसायीको तर्क छ ।
सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर ६ करोड पुर्याउने गरी वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित ड्राफ्ट तयार पारेको छ । यहि ऐन पारित भएमा ३० लाख धरौटी राखेर व्यवसाय गरेका म्यानपावर कम्पनीले ६ करोड जम्मा गर्नुपर्ने छ ।
सरकारले उनीहरुलाई मर्ज गर्ने विकल्प भने दिने भएको छ । यसका लागि तीन महिनाको समय दिन लागिएको श्रोतले जनाएको छ । ३ महिना भित्रमा मर्ज नहुने म्यानपावर कम्पनीले अर्को तीन महिनामा ६ करोड धरौटी बुझाउनु पर्नेछ ।
यसमध्ये २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टि चाहिने छ । यसअघि ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टिको व्यवस्था रहेको थियो ।
सरकारले ५ वर्षभित्रमा बाध्यताका कारण वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नरहने र पर्याप्त रोजगारी देशभित्रै सिर्जना गर्ने दाबी गरेको छ । तर वैदेशिक रोजगार व्यवसायी संघले भने धरौटी बढाउने निर्णयले सरकारको लक्ष्य पूरा नहुने बताएका छन् ।
अब ६ करोड धरौटी बुझाएर व्यवसाय गर्न नसक्ने भएकाले लाइसेन्स बुझाउने निर्णय गर्न लागिएको गुरुङले बताए ।
३३ वर्ष बेरोजगारी समस्या समाधनमा सहयोग गरेकोमा सरकारले धन्यवाद दिनुको साटो सखाप पार्ने लाइनमा सरकार देखिएको व्यवसायीको ठहर छ । २०४२ सालमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा पठाउन खुल्ला गरिएपछि म्यानपावर व्यवसायीहरुको स्थापना भएको थियो । त्यस यता धेरैजसो कामदार म्यानपावरमार्फत नै वैदेशिक रोजगारीमा जाने गरेका छन् । गत आर्थिक वर्षमात्रै तीन लाख बढि कामदार म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस्