भारतीय ट्रकको ठक्करबाट मजदुरको मृत्यु, दाङमा करेन्ट लागेर एकजनाको ज्यान गयो
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नम्बरको भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उनी नारायणगढ–मुग्लिन सडकखण्डमा काम गर्दैआएका थिए ।
फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाङमा करेन्ट लागेर एकजनाको मृत्यु .
दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
आफ्नै घरमा लत्रिएको बिजुलीको तार मिलाउने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट का ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जानकारी दिएको छ ।
सोमबार बेलुका घर भित्र लत्रिएको तार मिलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्