दाङमा व्यक्तिगत ४० लाख लगानीमा भ्यु–टावर निर्माण
काठमाडौँ । दाङको घोराहीस्थित नमः छु गुम्बामा मनबहादुर पुनका परिवारले ४० लाख रुपैयाँको लागतमा भ्यु–टावर निर्माण गरेका छन्।
भ्यु–टावरको नाम ‘मनदिल’ राखिएको छ। यस भ्यूटावरलाई जिल्लाको पहिलो भएको पनि दावी गरिएको छ। पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ।
‘सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यु–टावर निर्माण गरेका हौं,’ पुनले भने। बुद्ध जयन्तीका अवसरमा सुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उनले बताए। भ्यु–टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ।
उक्त भ्यु–टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो। भ्यु–टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने बताइएको छ।
भ्यु–टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए। ‘भ्यु–टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ’, अध्यक्ष रोकाले भने। भ्यु–टावर निर्माणसँगै नमःछु गुम्बाको पर्यटकीय विकासमा थप टेवा पुग्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्