राजीनामा दिएका मन्त्री तामाङको चार महिने कार्यकाल: मन्त्रीले के-के काम गरे ?

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको चार महिने कार्यकाल उपलब्धिपूर्ण देखिएको छ ।
चैत २ गते मन्त्री बनेका तामाङ जम्मा ४ महिना ८ दिन कार्यभार सम्हाल्दै मंगलबार राजीनामा दिन बाध्य भए ।

बोलीमा संयमता नअपनाउँदा र भावनामा बढी बोल्दा मन्त्री पदबाट बिदा भएका तामाङको कार्यकालमा कानुन निर्माणका धेरै कामहरु भएका छन् ।
नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानुनमध्ये ७३ वटा कानुन निर्माण गरिएको छ । त्यसमध्ये अब मात्रै ३७ कानुन बनाउन बाँकी छन् ।

१५ वटा मौलिक हक कार्यान्वयनका लागि चाहिने कानुन अगाडि बढिसकेको र अब मन्त्रिपरिषदले पारित गरेर संसदमा लैजाने छ । मौलिक हकसम्बन्धी कानुन तर्जुमा गर्नुपर्ने कुनै पनि काम अब बाँकी छैन । असोज २ गते भित्रै मौलिक हकका सबै कानुन बन्ने र राष्ट्रपतिले प्रमाणिकरणपछि कार्यान्वयनमा आउने छ ।

मौलिक हकका ३१ वटैको कानुन निर्माण गर्नुपर्ने आवश्यकता नरहेको र आवश्यक कानुन संविधानले तोकिएकै समयमा निर्माण हुने उनको दाबी छ ।

आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण काम भनेको न्यायाधीशका आचरण शुद्ध राख्न उनीहरूले पनि सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था ल्याउन सफल भएको तामाङले बताए ।
सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने नियम छ । तर यसअघि न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दैन थियो । अब न्यायाधीशहरुले अनिवार्य विवरण सार्वजनिक गर्नुपर्छ ।

राजीनामा दिनुअघि भएको पत्रकार सम्मेलनमा उनले आफूले न्यायालय सुधारको मुख्य काम त्यसैबाट सुरु गरेको बताए ।

कानुन मन्त्री तामाङले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने काम मात्रै गर्नुभएन, केपी ओली नेतृत्वको सरकार बनेपछि सम्पत्ति सार्वजनिक गर्ने उनी नै पहिलो मन्त्री हुन।

वर्तमान सरकारमा रहेका मन्त्रीहरुमा तामाङलाई बोल्नेभन्दा बढी काम गर्ने व्यक्तिको रुपमा चिनिन्थ्यो । उनी महिला हकहितकै विषयमा आवाज उठाउँदै कानुन तर्जुमा गर्न महत्वपूर्ण भूमिका निभाएका व्यक्ति समेत हुन् । तर एउटा स्कुलको कार्यक्रममा महिलाकै विषयमा बोल्दा तामाङले मन्त्री पद नै गुमाउन बाध्य हुनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्