बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र
काठमाडौं। बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र परेका छन् । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् ।
सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् ।
खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ ।
अत्यावश्यक रहेका कतिपय गाउँमा योजना नै पर्दैनन्, बनेका योजना पनि मर्मतसम्भार अभावमा अलपत्र रहेको स्थानीय अटल आचार्यले बताए ।
बारेकोट गाउँपालिका–४, जिरीका ३०० परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र खुर्पा–५का ६०० घरपरिवारलाई पानीकै पिरलो छ । भेरी नगरपालिका–१३, कुदुका ८०० घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् ।
जाजरकोटमा करीब १० हजार घरपरिवार खानेपानीको पहुँच बाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण पटक–पटक भाइरल इन्फ्लुएन्जा, झाडापखालालगायत महामारी फैलिने गरेको छ । महामारीकै कारण ४०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
एक आवमा तीन दर्जन योजनाका लागि रु पाँच करोड मात्र खर्चने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्