म्याग्दीमा एकै वर्ष ११ वटा झोलुंगे पुल निर्माण, ५०० घरधुरी लाभान्वित
काठमाडौं । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् ।
पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने समस्या हटेको मात्र छैन, पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको छ ।
रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो (३६५.८ मिटर) झोलुंगे पुल निर्माण गरेको छ भने अन्य १० वटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् ।
रु दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा बनेको सो पुल २०७५ वैशाखदेखि सञ्चालनमा आएको थियो । यसबाट बेग र बादुक गाउँका बासिन्दालाई आवतजावत गर्न डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्नुका साथै पर्यटकको चहलपहल बढेको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।
अन्य १० वटा पुल जिल्ला प्राविधिक कार्यालय, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), स्वाप, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको सहकार्यमा निर्माण भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्