नुवाकोटको उर्लेनीमा पहिरो : २ घर पुरिए, ३५ परिवार जोखिममा

काठमाडौं । नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीमा गएको पहिरोमा परी दुई घर पुरिएका छन् भने ३५ घर उच्च जोखिममा रहेका छन्।

वर्षासँगै उर्लेनीको ढाँडेको ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरेर बस्तीमा पहिरो बगेपछि स्थानीयवासी वीरबहादुर तामाङ र राजकुमार तामाङको घर पुरेको छ।  पहरोले स्थानीयवासी श्यामबहादुर भुजेलको पसलमा क्षति पुगेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

सोही पहिरोका कारण ढाँडे र काल्चेका ३५ घर उच्च जोखिममा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि पहिरो गएका स्थानमा पुगेर पीडितलाई राहत प्रदान गरेका छन्। पहिरोपीडितलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको रेडक्रसका मन्त्री हरि श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्