पहिरोका कारण खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण गएरातिदेखि सवारी साधन आवत जावत रोकिंदा सयौँ यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय खोटाङ्गले जनाएको छ ।

नगरपालिकाको जेसिबी, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग कालोपत्रका काममा प्रयोग गरिएको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ प्रहरीले जानकारी दिए ।

सडकको अवरोध हटाउन नागार्जुन कम्पनीको दुई वटा बकेटसहितको एस्काभेटरसमेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

सडकमाथिबाट खसेको ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुप्रिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम गर्नु पर्ने भएकाले ढिला भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्