जलविद्युतमै केन्द्रित कारोबार, बैंकिङ र विकास बैंकतर्फ पनि बढ्दै लगानीकर्ताको चासो
काठमाडौं, १४ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता सीमित दायरामै उतारचढाव गरिरहेको छ। प्राविधिक सूचकहरूले बजार अझै बुलिस प्रवृत्तिलाई निरन्तरता दिने वा पुनः करेक्सनतर्फ मोडिने निर्णायक चरणमा रहेको संकेत गरिरहेका छन्।
गत बिहीबारदेखि बुधबारसम्मको कारोबार विश्लेषण गर्दा जलविद्युत समूहमा सबैभन्दा बढी कारोबार भएको देखिएको छ। सूचीकृत कम्पनीको संख्या धेरै भएकाले यो समूहमा कारोबार स्वाभाविक रूपमा उच्च हुने भए पनि पछिल्ला दिनमा कुल कारोबारमा यसको हिस्सा उल्लेख्य रूपमा कायम रहेको देखिन्छ।
तथ्यांकअनुसार गत बिहीबार कुल कारोबारको करिब ४९ प्रतिशत हिस्सा जलविद्युत समूहले ओगटेको थियो। सोमबार भने यो हिस्सा घटेर ३४ प्रतिशतमा सीमित रहँदा वाणिज्य बैंक समूहप्रति लगानीकर्ताको आकर्षण बढेको देखियो। सो दिन बैंकिङ समूहको कारोबार हिस्सा १६ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको थियो।
मंगलबार वित्त कम्पनी समूहमा पनि कारोबार बढ्यो। यस समूहको हिस्सा ७ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको थियो। बुधबार भने पुनः जलविद्युत र विकास बैंक समूहमा कारोबार केन्द्रित भएको देखियो। जलविद्युत समूहको हिस्सा ४३ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ भने विकास बैंक समूहको हिस्सा ५.६३ प्रतिशतबाट बढेर ९.११ प्रतिशत पुगेको छ।
पछिल्ला कारोबारको प्रवृत्तिले जलविद्युतसँगै बैंकिङ, विकास बैंक र वित्त समूहप्रति पनि लगानीकर्ताको चासो विस्तार हुँदै गएको संकेत गरेको छ। यद्यपि कारोबारको हिस्सा मात्र हेरेर नयाँ खरिद बढेको वा बिक्री दबाब रहेको निष्कर्ष निकाल्न सकिँदैन। त्यसका लागि एकुमुलेसन–डिस्ट्रिब्युसन (एडी) अनुपातलाई महत्वपूर्ण सूचक मानिन्छ।
पाँच कारोबार दिनको एडी तथ्यांकअनुसार जलविद्युत समूह २१ लाखले सकारात्मक रहेको छ। यद्यपि बुधबार मात्रै ६ लाखले ऋणात्मक देखिएकाले केही नाफा बुकिङ भएको संकेत मिल्छ। विकास बैंक समूहको पाँच दिनको एडी ४ लाखले सकारात्मक रहँदा बुधबार ३ लाखले ऋणात्मक देखिएको छ। त्यसैगरी बैंकिङ समूहको पाँच दिनको एडी ३२ लाखले सकारात्मक रहेको भए पनि बुधबार ८ लाखले ऋणात्मक भएको छ।
यसले बुधबार केही नाफा बुकिङ देखिए पनि समग्र पाँच कारोबार दिनको पूँजी प्रवाह अझै सकारात्मक रहेको र यी क्षेत्रबाट ठूलो मात्रामा लगानी बाहिरिएको संकेत नदेखिएको विश्लेषण गरिएको छ।
बुधबार सबैभन्दा बढी कारोबार भएका कम्पनीमध्ये जलविद्युत क्षेत्रका हिमालयन पावर पार्टनर र खानी खोला हाइड्रोपावर परेका छन्। यी दुवै कम्पनी मूल्य वृद्धिका आधारमा शीर्ष १० कम्पनीको सूचीमा समेत परेका छन्। हिमालयन पावर पार्टनरको सेयर मूल्य ३.३५ प्रतिशतले बढेर ३९४ रुपैयाँ पुगेको छ भने २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै खानी खोला हाइड्रोपावरको सेयर मूल्य ३.६२ प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ र २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समग्रमा पछिल्ला कारोबारले जलविद्युत समूहमा अझै पनि सबैभन्दा बढी सक्रियता रहेको देखाएको छ। साथै बैंकिङ, विकास बैंक र वित्त समूहमा पनि कारोबारको हिस्सा क्रमशः बढ्दै गएकाले लगानीकर्ताले विभिन्न क्षेत्रबीच अवसर खोज्दै पूँजी स्थानान्तरण गरिरहेको संकेत देखिएको छ।
अब यो प्रवृत्ति निरन्तर रहने वा फेरि जलविद्युतमै केन्द्रित हुने भन्ने विषय कम्पनीहरूको वित्तीय विवरण, लगानीकर्ताको मनोविज्ञान तथा नेप्सेको आगामी दिशामा निर्भर रहनेछ।













प्रतिक्रिया दिनुहोस्