नेप्से परिसूचक ७.७९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं, १३ असार । साताको कारोबारको बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। नेप्से ७ दशमलव ७९ अंकले घटेर २ हजार ६८८ दशमलव ८८ विन्दुमा बन्द भएको हो।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ३४३ वटा धितोपत्रको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच भएको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये ७८ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
एभरेस्ट कलरको मूल्य सर्वाधिक बढ्यो
बुधबार एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक १४ दशमलव ९९ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९९० रुपैयाँ १० पैसा पुगेको छ।
त्यस्तै, स्नो रिभर्सको सेयर मूल्य ४ दशमलव ९० प्रतिशतले बढेर प्रतिकित्ता ९७१ रुपैयाँ ४० पैसा कायम भएको छ।
यता, गरिमा समृद्धि योजनाको मूल्य सर्वाधिक ६ दशमलव ६० प्रतिशतले घटेको छ। यसको प्रतिकित्ता मूल्य ९ रुपैयाँ ७७ पैसामा झरेको छ।
त्यस्तै, सिभिल बैंक डिबेन्चर २०८८ को मूल्य ६ दशमलव ०१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २३५ रुपैयाँमा सीमित भएको छ।
हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार
बुधबार कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३९४ रुपैयाँ ७० पैसामा २२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा ३ दशमलव ३५ प्रतिशतले बढेको छ।
त्यस्तै, सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा खानीखोला हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २९५ रुपैयाँमा २१ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
११ समूहको परिसूचक घट्यो
बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक मात्र बढेको छ। म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढ्दा बाँकी ११ समूहको परिसूचक घटेको छ।
बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो।













प्रतिक्रिया दिनुहोस्