एनआईसी एसिया बैंक र चन्द्रागिरी हिल्सले मागे हकप्रद शेयर निष्कासन अनुमति
काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै आवेदन दिएका छन्।
एनआईसी एसिया बैंकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ।
बैंकले हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस्तै, चन्द्रागिरी हिल्स लिमिटेडले पनि शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
चन्द्रागिरी हिल्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि दुवै कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी हकप्रद शेयर निष्कासन गर्नेछन्।













प्रतिक्रिया दिनुहोस्