नेप्सेमा सीईओका लागि आवेदन खुला, साउन २६ सम्म दरखास्त दिन सकिने

काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। असार २२ गतेदेखि रिक्त रहेको उक्त पदका लागि अर्थ मन्त्रालयले १५ दिनको म्यादसहित इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। आवेदन साउन २६ गते कार्यालय समयभित्र पेश गर्नुपर्नेछ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले जारी गरेको सूचनाअनुसार, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

त्यस्तै, आवेदकसँग पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुका साथै व्यवस्थापकीय तहमा कम्तीमा सात वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ। मन्त्रालयका अनुसार व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृत द्वितीय श्रेणी वा सो सरहको पद, वा कम्पनी तथा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह मातहतसम्मको नेतृत्व तहलाई जनाउँछ।

सीईओका लागि आवेदन दिने उम्मेदवार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ। साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) अनुसार कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

मन्त्रालयले गैरनेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, कानुनबमोजिम कालोसूचीमा परेका र फुकुवा भएको तीन वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरेका, सार्वजनिक निकायसँग ठेक्का वा पट्टा सम्झौतामा कार्यरत तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरू आवेदनका लागि अयोग्य हुने जनाएको छ।

आवेदनसँग स्वघोषणा फाराम, स्वयंले प्रमाणित गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र, दुई प्रति पासपोर्ट आकारका फोटो, व्यावसायिक कार्ययोजनाका तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ। साथै, दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृतको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारले तोकेबमोजिम हुनेछ। छनोट तथा सिफारिस समितिले आवश्यक परे कुनै कारण उल्लेख गरी वा नगरी आवेदन रद्द गर्न सक्नेछ। साथै, झुटा विवरण वा नक्कली कागजात पेश गर्ने आवेदकविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्