नेप्सेमा तीव्र करेक्सन, परिसूचक ३३ अंकले घट्यो
काठमाडौं, ११ साउन । अघिल्लो साता चार कारोबार दिन लगातार हरियाली देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको पहिलो कारोबार दिन भने तीव्र करेक्सनमा परेको छ।
कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि सोमबार बजार राताम्य बनेको हो। यद्यपि, लगानीकर्ता तथा बजार विश्लेषकहरूले पछिल्लो गिरावटलाई नकारात्मक संकेतभन्दा पनि स्वाभाविक करेक्सनका रूपमा व्याख्या गरेका छन्।
छोटो अवधिमा निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्नु सामान्य प्रक्रिया भएको भन्दै यसले बजारको आधार थप बलियो बनाउने उनीहरूको भनाइ छ।
करेक्सनले अत्यधिक बढेको सेयर मूल्यलाई सन्तुलनमा ल्याउने, नयाँ लगानीकर्तालाई बजार प्रवेशको अवसर दिने तथा दीर्घकालीन रूपमा बजारलाई थप दिगो बनाउने विश्वास गरिएको छ।
पछिल्लो समय पुँजी बजारप्रति सकारात्मक वातावरण निर्माण हुँदै गएको र लगानीकर्ताको मनोबलमा सुधार आएको देखिएको छ। बजार सुधार, विस्तार तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा विभिन्न तहमा छलफल भइरहेका छन्।
विशेषगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुँजी बजार विकासका विषयमा चासो देखाउँदै सरोकारवालासँग संवाद र भेटवार्ता गरेपछि लगानीकर्तामाझ सकारात्मक सन्देश गएको बताइएको छ।
सोमबार नेप्से परिसूचक ३३ दशमलव २८ अंकले घटेर २ हजार ७०१ दशमलव ३२ बिन्दुमा कायम भएको छ।
यस दिन ३५९ कम्पनीका १ करोड ३९ लाख १३ हजार कित्ता सेयर कारोबार हुँदा कुल ६ अर्ब ७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहमा मात्रै सुधार देखिएको छ। वाणिज्य बैंक र म्युचुअल फण्ड समूहको सूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूह राताम्य भएका छन्।
सोमबार ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३४ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन।













प्रतिक्रिया दिनुहोस्