एक महिनाभित्र ६ कम्पनीका ठूलो परिमाणका सेयरको लकइन अवधि सकिँदै

काठमाडौ, ६ साउन । आगामी एक महिनाभित्र ६ वटा कम्पनीका संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयका लागि छुट्याइएको सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले बजार मूल्यअनुसार उक्त सेयर खरिद–बिक्री गर्न सक्नेछन्। नियमानुसार लकइन अवधि सकिनुभन्दा एक महिनाअघि नै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था रहेकाले सेयर रजिष्ट्रार कम्पनीहरूले सूचना सार्वजनिक गरेका हुन्।

हालको व्यवस्थाअनुसार सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषका लागि ६ महिना तथा संस्थापक, स्थानीय र संस्थाका लागि ३ वर्षसम्म सेयरमा लकइन अवधि रहने गरेको छ।

बुधबारदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि सकिँदैछ। उक्त सेयरमा संस्थापक, स्थानीय तथा कर्मचारीको हिस्सा रहेको छ।

त्यस्तै, सोलु हाइड्रोपावरको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ लाख कित्ता सेयरको लकइन अवधि साउन ११ गते सकिनेछ। भुजुङ हाइड्रोपावरको सामूहिक लगानी कोषलाई बाँडिएको ५० हजार कित्ता सेयरको लकइन अवधि साउन २६ गते समाप्त हुनेछ।

अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको लकइन अवधि साउन २८ गते सकिँदैछ। उक्त सेयर संस्थापक, स्थानीय तथा कर्मचारीका लागि छुट्याइएको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि साउन ३० गते समाप्त हुनेछ। संस्थापक तथा कर्मचारीको ठूलो परिमाणको सेयर फुकुवा हुने भएकाले यसले बजारमा थप आपूर्ति बढाउन सक्ने देखिएको छ।

यस्तै, होटल फरेस्ट इनको सामूहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयरको लकइन अवधि भदौ ३ गते सकिनेछ।

लकइन अवधि सकिएपछि यी कम्पनीका सेयर बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्। बजारमा थप सेयर आपूर्ति हुँदा सम्बन्धित कम्पनीको मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्ताले कम्पनीको अवस्था र बजार प्रवृत्तिलाई ध्यान दिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्