तीन दिनमै लगानीकर्ताको सम्पत्ति २ खर्ब १४ अर्बले बढ्यो, नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दै
काठमाडौ, ६ साउन । नयाँ सरकार गठनपछि सेयर बजारमा आएको तीव्र गिरावटका कारण लगानीकर्ताको करिब पाँच खर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको भन्दै आलोचना बढिरहेका बेला प्रधानमन्त्रीले व्यवसायी तथा लगानीकर्तासँग भेटघाटलाई तीव्रता दिएका छन्। त्यसयता सेयर बजारमा सुधार देखिएको छ।
गत बिहीबारदेखि तीन कारोबार दिनमा नेप्से परिसूचक १२८ अंकले वृद्धि भएको छ। यस अवधिमा कुल बजार पुँजीकरण ४४ खर्ब ७० अर्ब रुपैयाँबाट बढेर ४६ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। यससँगै लगानीकर्ताको सम्पत्ति करिब २ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ।
नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्यो
बजारमा तीव्र सुधारसँगै लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका छन्। तीन कारोबार दिनमै केही कम्पनीको सेयर मूल्य ५०० रुपैयाँसम्म बढेको छ भने ८१ कम्पनीको मूल्य ७ देखि २७ प्रतिशतसम्म उकालो लागेको छ।
यस अवधिमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीहरूमा रिड्ज लाइन इनर्जी, श्रीनगर एग्रिटेक, शिखर पावर डेभलपमेन्ट, हिमस्टार ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, नेसनल हाइड्रो, सोलु हाइड्रो र रिडी हाइड्रोपावर रहेका छन्। यी कम्पनीका लगानीकर्ताले १६ देखि २७ प्रतिशतसम्म प्रतिफल पाएका छन्।
बैंकको मुद्दती निक्षेपमा अधिकतम करिब ६ प्रतिशत ब्याजदर रहेको वर्तमान अवस्थामा छोटो अवधिमै प्राप्त भएको यस्तो प्रतिफल आकर्षक मानिएकाले नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेको देखिन्छ। यही कारण बजारको वृद्धिदर केही सुस्तिएको विश्लेषण गरिएको छ।
मंगलबार केही रकम बाहिरियो
मंगलबारको कारोबारमा एकुमुलेसन–डिस्ट्रिब्युसन सूचक १६ लाखले ऋणात्मक देखिएको छ। यसले उक्त दिन बजारबाट केही रकम बाहिरिएको संकेत गर्छ।
यद्यपि पछिल्लो एक महिनामा भने डिस्ट्रिब्युसनभन्दा एकुमुलेसन करिब ११ लाखले बढी रहेको छ। यसले बिक्रीभन्दा खरिद अझै केही बढी रहेको र लगानीकर्ताले सेयर संकलन जारी राखेको संकेत दिएको छ। यसअघि लगातार पाँच कारोबार दिनसम्म उक्त सूचक सकारात्मक थियो।
मनी फ्लो इन्डेक्स अझै सन्तुलित
१४ दिने मनी फ्लो इन्डेक्स सोमबार ६३ विन्दुमा पुगेकोमा मंगलबार ५३ विन्दुमा झरेको छ। यद्यपि यो स्तरले बजारमा खरिद–बिक्रीको दबाब अझै सन्तुलित रहेको र नयाँ लगानीको प्रवेश सुधारकै अवस्थामा रहेको संकेत गर्छ।
यो सूचकले मूल्य र कारोबार रकमका आधारमा बजारमा खरिद तथा बिक्रीको दबाब मापन गर्ने भएकाले बजारमा नयाँ रकम प्रवेश भइरहेको वा बाहिरिइरहेको अवस्थाको संकेत दिन्छ।
प्राविधिक विश्लेषणले के भन्छ?
शुक्रबारयताको कारोबारमा नेप्सेमा ‘डेलिबरेसन बियरिस’ मैनबत्ती आकृतिको संकेत देखिएको छ। शुक्रबार र सोमबार हरियो मैनबत्ती बनेपछि मंगलबार लामो धागो भएको ‘दोजी’ आकृति बनेको छ, जसले बुलिस प्रवृत्ति केही कमजोर हुन सक्ने संकेत गरेको छ।
तर विश्लेषकका अनुसार यो संकेत अझै बलियो भने होइन। बुधबार पनि बजार घटेर रातो मैनबत्ती बनेमा केही दिनका लागि बजारमा करेक्सन आउन सक्ने सम्भावना रहनेछ।
दीर्घकालीन प्रवृत्ति हेर्दा ५० दिने र २०० दिने मुभिङ एभरेज रेखा अझै समानान्तर रूपमा अघि बढिरहेका छन्। ५० दिने मुभिङ एभरेजले २०० दिने रेखालाई माथिबाट क्रस गरेमा बुलिस प्रवृत्ति बलियो हुने सम्भावना रहन्छ भने विपरीत अवस्था आए बजार बियरिस प्रवृत्तितर्फ जान सक्ने प्राविधिक विश्लेषणले देखाउँछ।













प्रतिक्रिया दिनुहोस्