नेप्से ७९ अंकले बढ्यो, बजार २६७७ बिन्दुमा पुग्यो
काठमाडौं, १ साउन । लगातार चौथो दिन बढेको सेयर बजार शुक्रबार ७९.७४ अंकले उकालो लागेको छ। ३.०६ प्रतिशतको वृद्धिसँगै नेप्से परिसूचक २६७७.०५ बिन्दुमा पुगेको छ।
अघिल्लो दिन ७.५० अंकले बढेको बजार शुक्रबार कारोबार सुरु भएदेखि नै सकारात्मक देखिएको थियो। दिनभर उकालो लागेको बजार बन्द हुँदाको अंक नै कारोबार अवधिको उच्चतम बिन्दु बनेको हो। शुक्रबारको वृद्धि चैत २३ यताकै उच्च हो।
कारोबार रकम भने सामान्य घटेको छ। बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो। अघिल्लो दिन करिब १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको थियो भने शुक्रबार ऋणपत्र कारोबार ६१ लाख रुपैयाँमा सीमित भएको थियो।
शुक्रबार २५७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत परिसूचक सकारात्मक बनेका छन्।
जलविद्युत्, लगानी तथा उत्पादन तथा प्रशोधन समूहमा उल्लेख्य वृद्धि देखिएको छ। बैंकिङ समूह २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत, फाइनान्स ३.३९ प्रतिशत, होटल तथा पर्यटन ३.६६ प्रतिशत, जलविद्युत् ४.५८ प्रतिशत, लगानी ४.१२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशतले बढेको छ।
यस्तै जीवन बीमा २.७४ प्रतिशत, माइक्रोफाइनान्स १.८० प्रतिशत, निर्जीवन बीमा २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत र व्यापार समूह ०.८३ प्रतिशतले बढेका छन्।
शुक्रबार दुई कम्पनी श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। शिखर पावरको १२.५४ प्रतिशत, रिजलाइन इनर्जीको १२.०६ प्रतिशत, मिडसोलु हाइड्रोपावरको १२.०५ प्रतिशत, सिटी होटलको ११.९९ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको १०.९६ प्रतिशत, भुजुङ हाइड्रोपावरको १०.७२ प्रतिशत र नेसनल हाइड्रोपावरको १०.७० प्रतिशतले मूल्य बढेको छ।
यसैगरी आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। फर्स्ट माइक्रोफाइनान्स ८.७२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ४.१७ प्रतिशतले घटेका छन्।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप रहेका छन्।
सेयर धितो कर्जा व्यवस्थाले बढायो लगानीकर्ताको मनोबल
केही दिनअघिसम्म असार मसान्तमा बैंकको साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने दबाबका कारण बजार प्रभावित भएको थियो। तर पछिल्ला चार कारोबार दिनमा बजार लगातार बढेको छ।
मौद्रिक नीति घोषणापछि सेयर धितो कर्जा कम्पनीको सबलताका आधारमा उपलब्ध गराउने व्यवस्था हुने भएपछि कमजोर वित्तीय अवस्था भएका कम्पनीमा कर्जा घट्ने अनुमान गरिएको थियो।
तर नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा यसअघि कायम सेयर धितो कर्जाको सीमा कायम राख्दै सबल कम्पनीका लागि थप १० प्रतिशत बिन्दुसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेपछि लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिएको छ।
हाल पछिल्लो १८० दिनको औसत मूल्य वा हालको मूल्यमा जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा उपलब्ध गराउने व्यवस्था छ। सबल कम्पनीका हकमा भने यो सीमा बढाएर ८० प्रतिशतसम्म पुर्याइएको छ।













प्रतिक्रिया दिनुहोस्