एभरेस्ट कलरको सेयर कारोबार सुरु, पहिलो मूल्य प्रतिकित्ता २९६.६० रुपैयाँ कायम
काठमाडौं, १ साउन । एभरेस्ट कलर लिमिटेडको सेयर कारोबार आज (शुक्रबार)देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा औपचारिक रूपमा सुरु भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ६० पैसामा सम्पन्न भएको हो। यही मूल्यलाई आधार मानेर अब नियमित कारोबार सञ्चालन हुनेछ।
कम्पनीको सेयर ‘ECL’ संकेतमा कारोबारका लागि खुला गरिएको छ।
एभरेस्ट कलरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा कम्पनीका सर्वसाधारणलाई वितरण गरिएको ७ लाख ९० हजार कित्ता र संस्थापक लगानीकर्ताको २२ लाख १० हजार कित्ता गरी कुल ३० लाख कित्ता सेयर सूचीकृत भएका छन्।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा (प्राइस रेन्ज) तोकेको थियो। नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थका आधारमा पहिलो कारोबारका लागि अधिकतम तीन गुणासम्मको मूल्य दायरा निर्धारण गर्ने व्यवस्था रहेको छ।













प्रतिक्रिया दिनुहोस्