नेप्से ७.५० अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ५६ करोड पुग्यो

काठमाडौं, ३२ असार ।  साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा पुगेर बन्द भएको हो।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

यसदिन ३७१ वटा धितोपत्रको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १२१ वटाको सेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ। यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बिहीबार एनआइबिएल ग्रोथ फण्डको मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढेको छ। उक्त फण्डको इकाइ मूल्य १० रुपैयाँ ९१ पैसा पुगेको छ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य १४.६७ प्रतिशतले बढेर प्रतिकित्ता ८६० रुपैयाँ पुगेको छ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.७७ प्रतिशतले घटेको छ। बैंकको प्रतिकित्ता मूल्य १ हजार ५९६ रुपैयाँ ५० पैसा कायम भएको छ।

त्यसैगरी, एनआइसी एसिया फेक्सी क्याप फण्डको मूल्य ४.५३ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ६ पैसा कायम भएको छ।

बिहीबार सबैभन्दा बढी कारोबार सिंगटी हाइड्रो इनर्जीको भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँ ९० पैसाका दरले २४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.३४ प्रतिशत बढेको छ।

सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ रहेको छ। उक्त डिबेन्चरको १ हजार १५० रुपैयाँका दरले २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूह घटेका छन् भने ९ समूह बढेका छन्। म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्