अर्थ समितिको निर्देशन: पुँजी बजार र बैंकिङ सुधारबारे १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं, ३१ असार । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित विषयमा विस्तृत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा अन्य सम्बन्धित निकायसँग छलफलपछि यस्तो निर्देशन दिइएको हो।
बैठकमा सांसदहरूले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जा विस्तार हुन नसकेको, पुँजी बजार सुस्त रहेको, धितोपत्र बजारमा संस्थागत सुधार आवश्यक रहेको तथा बजार विकासका लागि नयाँ वित्तीय उपकरण, लगानीकर्ता संरक्षण, नियामकीय क्षमता अभिवृद्धि, बजारमा देखिएका विकृति नियन्त्रण र नीतिगत सुधार आवश्यक रहेको विषय उठाएका थिए।
समितिले छलफलका क्रममा उठेका सबै विषय समेटेर अध्ययन गर्न, तत्काल कार्यान्वयन गर्न सकिने र नीतिगत सुधार आवश्यक पर्ने विषय छुट्याई १० दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।
छलफलमा सांसदहरूले सर्ट सेलिङ, डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरण कार्यान्वयन, संस्थागत लगानीकर्ता विस्तार, बैंक तथा पुँजी बजारबीच समन्वय, लगानीकर्ताको विश्वास अभिवृद्धि र नीतिगत स्थायित्व सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएका थिए।
समितिले सम्बन्धित निकायबाट प्राप्त हुने प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि थप पहल गर्ने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्