नेप्से ६ अंकले बढ्यो, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो

काठमाडौं, ३० असार । साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

यसदिन नेप्से परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा बन्द भएको हो। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।

सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

मंगलबार कुल ३८३ वटा धितोपत्रको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १६४ वटाको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ। १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

मंगलबार सबैभन्दा धेरै मूल्य बढ्नेमा ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०९० रहेको छ। उक्त डिबेन्चरको मूल्य १०.२२ प्रतिशतले बढेर १ हजार २२९ रुपैयाँ पुगेको छ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को मूल्य ९.८२ प्रतिशतले बढेर प्रतिडिबेन्चर १ हजार २४१ रुपैयाँ कायम भएको छ।

यता, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेन्चर २०९० को मूल्य सबैभन्दा धेरै ९.६८ प्रतिशतले घटेको छ। यसको मूल्य घटेर १ हजार ५३ रुपैयाँ १० पैसा कायम भएको छ।

सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.१० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार १०० रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा मंगलबार १० प्रतिशत केबिएल डिबेन्चर २०९० शीर्ष स्थानमा रहेको छ। उक्त डिबेन्चरको १ हजार २५० रुपैयाँका दरले ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसको मूल्य अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशतले बढेको हो।

त्यस्तै, धेरै कारोबार हुने दोस्रोमा १० प्रतिशत एनएमबी डिबेन्चर २०९० रहेको छ। यसको १ हजार २५० रुपैयाँका दरले ३९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूह बढेका छन्। व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.४७ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्