सेयर बजार घट्दा ऋणपत्र कारोबारमा उछाल, किन बढ्दैछ लगानीकर्ताको आकर्षण?
काठमाडौं, २९ असार । सेयर बजार पछिल्लो समय ओरालो लागे पनि दोस्रो बजारमा ऋणपत्रको कारोबार भने उल्लेखनीय रूपमा बढ्न थालेको छ। पछिल्ला केही कारोबार दिनमा कुल कारोबार रकममा ऋणपत्रको हिस्सा बढ्दै गएको देखिएको छ।
गत बिहीबार दोस्रो बजारमा सेयरतर्फ दुई अर्ब ८६ करोड रुपैयाँको कारोबार हुँदा कुल कारोबार चार अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो। शुक्रबार सेयर कारोबार तीन अर्ब आठ करोड रुपैयाँमा सीमित रहँदा कुल कारोबार भने छ अर्ब ८६ करोड रुपैयाँ पुगेको थियो। यसले कुल कारोबारमा ऋणपत्रको हिस्सा उल्लेख्य रूपमा बढेको देखाउँछ।
शुक्रबार सबैभन्दा बढी कारोबार भएका १० धितोपत्रमध्ये नौवटा ऋणपत्र रहेका थिए। ऋणपत्रको मूल्यमा हुने उतारचढावले नेपाल धितोपत्र बोर्डको परिसूचकमा प्रभाव नपारे पनि कारोबार रकममा यसको योगदान निरन्तर बढिरहेको छ।
बजार जानकारका अनुसार ऋणपत्र कारोबार बढ्नुका मुख्य तीन कारण छन्। पहिलो, आगामी आर्थिक वर्षको बजेटमार्फत संस्थाहरूले सञ्चालन गर्दै आएका समानान्तर अवकाश कोष बन्द गर्ने व्यवस्था गरिएकाले ती कोषले आफ्नो लगानी व्यवस्थापनका लागि ऋणपत्र बिक्री बढाएका छन्।
दोस्रो, बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर घटेपछि लगानीकर्ता ऋणपत्रतर्फ आकर्षित भएका छन्। हाल बजारमा रहेका अधिकांश ऋणपत्रमा साढे आठदेखि ११ प्रतिशतसम्म वार्षिक ब्याज पाइन्छ, जबकि मुद्दती निक्षेपको औसत ब्याजदर चार दशमलव २७ प्रतिशतको हाराहारीमा छ।
तेस्रो, संस्थागत लगानीकर्ताले वित्तीय विवरण आकर्षक देखाउन ऋणपत्र खरिद–बिक्री बढाएको बजार स्रोतको भनाइ छ। ऋणपत्रबाट प्राप्त ब्याज आम्दानीले नाफा बढेको देखिने भएकाले संस्थाहरू यसमा सक्रिय देखिएका छन्।
यद्यपि, ऋणपत्रमा लगानी गर्दा ब्याजदर मात्र हेरेर निर्णय गर्न नहुने जानकारहरू बताउँछन्। बजार मूल्य, परिपक्व हुने अवधि, ब्याज भुक्तानीको समय र जारी गर्ने संस्थाको वित्तीय अवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
नेपालमा हालसम्म परिपक्व अवधि पुगेपछि ऋणपत्रको भुक्तानी रोकिएको उदाहरण नरहेकाले बैंक तथा वित्तीय संस्थाले जारी गरेका ऋणपत्रलाई तुलनात्मक रूपमा सुरक्षित लगानीका रूपमा हेरिन्छ। तर, लगानी गर्नुअघि प्रतिफल, जोखिम र बजार मूल्यको अवस्था विश्लेषण गर्न आवश्यक रहेको जानकारहरूको सुझाव छ।













प्रतिक्रिया दिनुहोस्