सरकार, बजेट र मौद्रिक नीतिपछि पनि नेप्सेमा सुधार आएन, ६ महिनायताकै न्यून विन्दुमा बजार
काठमाडौं, २८ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला केही महिनादेखि निरन्तर ओरालो लाग्दै २ हजार ६ सय बिन्दुको आसपासमा झरेको छ। यससँगै बजार पछिल्लो ६ महिनायताकै न्यून स्तरमा पुगेको हो।
नयाँ सरकार गठनसँगै शेयर बजारमैत्री नीति आउने अपेक्षामा लगानीकर्ता आशावादी बनेका थिए। सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिले बजारलाई सकारात्मक दिशा दिने अनुमान गरिए पनि त्यसको प्रभाव नेप्सेमा देखिन सकेको छैन। बरु पछिल्ला महिनाहरूमा बजारमा निरन्तर बिक्री दबाब बढ्दै गएको छ।
सरकार गठनयता करिब ३५० अंकले घट्यो नेप्से
बालेन शाह नेतृत्वको सरकार गठन हुनुअघि चैत १२ गते नेप्से परिसूचक २ हजार ९ सय ५०.१६ बिन्दुमा पुगेको थियो। तर त्यसयता बजार लगातार घट्दै शुक्रबारसम्म आइपुग्दा २ हजार ६ सय बिन्दुको आसपासमा झरेको छ।
सरकार गठनयता मात्रै नेप्से करिब ३५० अंकले घटेको छ। यो अवधिमा बजारको उच्चतम स्तर चैत ११ गते २ हजार ९ सय ७० बिन्दु पुगेको थियो। त्यसपछि भने बजार लगातार घट्दो क्रममा रहेको छ।
बजेटले पनि जगाउन सकेन लगानीकर्ताको मनोबल
शेयर बजार सुधारका लागि सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न नीतिगत व्यवस्था गरेको थियो। पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा कानुनी मान्यता दिने, गैरआवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने तथा नेप्सेको पुनर्संरचनालगायत १० वटा व्यवस्था बजेटमा समेटिएका थिए।
लगानीकर्ताले यी व्यवस्थाबाट बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका थिए। तर बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमै नेप्से २६.७२ अंकले घटेको थियो। त्यसयता मात्रै परिसूचक करिब ८६ अंकले घटिसकेको छ।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजेट सकारात्मक भए पनि व्यवसायीमाथिको धरपकडले लगानीकर्तामा अन्योल सिर्जना गर्यो।
उनले भने, “बजार ठूला लगानीकर्ताको मनोविज्ञानले धेरै हदसम्म चल्ने गर्छ। उनीहरू नै अन्योलमा परेपछि बजेटको सकारात्मक प्रभाव देखिन सकेन।”
मौद्रिक नीतिले पनि बजारलाई साथ दिएन
बजेटपछि लगानीकर्ताको ध्यान नेपाल राष्ट्र बैंकको मौद्रिक नीतितर्फ केन्द्रित भएको थियो। तर सार्वजनिक भएको मौद्रिक नीतिमा शेयर बजारका लागि विशेष राहत वा प्रोत्साहनको व्यवस्था नआएको भन्दै लगानीकर्ता निराश बनेका छन्।
राष्ट्र बैंकले कम्पनीको वित्तीय अवस्था र नेटवर्थका आधारमा मात्रै शेयर धितो कर्जा विस्तार गर्ने नीति लिएको छ। मौद्रिक नीति सार्वजनिक भएयताका तीनै कारोबार दिन नेप्से घटेको छ। यस अवधिमा मात्रै परिसूचक ५१ अंकले ओरालो लागेको छ।
पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालका अनुसार बैंक तथा वित्तीय संस्थाको हिस्सा नेपाली शेयर बजारमा ठूलो भएकाले राष्ट्र बैंकका नीतिको प्रत्यक्ष प्रभाव बजारमा पर्ने गर्छ।
उनले कमजोर वित्तीय अवस्थाका कम्पनीको शेयर धितो राखेर कर्जा लिन कठिन हुने भएपछि त्यसको असर बजारमा देखिएको बताए।
लगानीकर्ताको मनोविज्ञान पनि कमजोर
पाही इन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत कमल धितालका अनुसार मौद्रिक नीतिमा शेयर बजारलाई लक्षित कुनै विशेष व्यवस्था नआएकाले लगानीकर्ता निराश बनेका हुन्।
नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डे भने अहिलेको गिरावटको कारण मौद्रिक नीति मात्रै नभएको बताउँछन्। उनका अनुसार असार मसान्तका कारण सेटलमेन्टको दबाब, नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा ब्रोकरहरूले पर्याप्त कारोबार सीमा (लिमिट) उपलब्ध गराउन नसक्दा पनि बिक्री दबाब बढेको छ।
“शेयर बजार धेरै हदसम्म मनोविज्ञान र अपेक्षाले पनि चल्ने भएकाले अहिलेको अवस्थामा त्यसको प्रभाव स्पष्ट देखिएको छ,” उनले भने।
अब के होला?
विश्लेषकहरूका अनुसार बजारको आगामी दिशा लगानीकर्ताको विश्वास पुनः स्थापित हुने वा नहुनेमा निर्भर रहनेछ। सरकार, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट आउने थप नीतिगत निर्णय तथा बजारमा तरलताको अवस्था नै आगामी दिनमा नेप्सेको गति निर्धारण गर्ने प्रमुख आधार हुने देखिन्छ।













प्रतिक्रिया दिनुहोस्