नेप्से घट्दा कारोबार रकम ६ अर्ब ६८ करोड रुपैयाँ, लघुवित्तको मूल्यमा वृद्धि
काठमाडौं, २६ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। परिसूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा बन्द भएको हो।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन ३६७ वटा धितोपत्रको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर कारोबार भएको छ। कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।
शुक्रबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १०.६६ प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ४१६ रुपैयाँ पुगेको छ। त्यस्तै, कुमारी इक्विटी फण्डको इकाइ मूल्य ९.०९ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ १६ पैसा कायम भएको छ।
यता, भगवती हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेर प्रतिकित्ता ५१६ रुपैयाँ १० पैसामा झरेको छ। एनआइबिएल स्टेबल फण्डको इकाइ मूल्य पनि ७.६३ प्रतिशतले घटेर ७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा शुक्रबार ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चर प्रतिकित्ता १ हजार १५१ रुपैयाँमा ८९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५.३१ प्रतिशतले बढेको छ।
त्यसैगरी, ८.५ प्रतिशत आरबिबिएल डिबेन्चर २०८३ दोस्रो सर्वाधिक कारोबार भएको धितोपत्र बनेको छ। उक्त डिबेन्चर प्रतिकित्ता १ हजार ६२ रुपैयाँमा ६९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहमा गिरावट आएको छ। तीमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले वृद्धि भएको छ।













प्रतिक्रिया दिनुहोस्