२६ सय विन्दुमुनि झर्यो नेप्से, प्राविधिक सूचकले थप दबाबको संकेत
काठमाडौं, २६ असार । निरन्तर घट्दो क्रममा रहेको नेपाल धितोपत्र बजार परिसूचक (नेप्से) बिहीबार २६ सय विन्दुभन्दा तल झरेर साढे छ महिनायताकै न्यून तहमा पुगेको छ।
बिहीबार नेप्से २६०१ दशमलव ९२ विन्दुमा बन्द भएको छ। यसअघि पुस ९ गते २५८५ विन्दुमा पुगेपछि बिहीबार त्यसयताकै सबैभन्दा न्यून तह कायम भएको हो। असार १६ गते २६०५ विन्दुसम्म झरेपछि बजारमा सुधारको प्रयास देखिए पनि त्यो टिक्न सकेन।
प्राविधिक विश्लेषकका अनुसार अहिले बजार महत्त्वपूर्ण मोडमा पुगेको छ। ५० दिने र २०० दिने चलायमान औसत रेखा एकअर्काको निकै नजिक पुगेका छन्। ५० दिने रेखा निरन्तर ओरालो लागिरहेको छ भने २०० दिने रेखा क्रमशः माथि उक्लिरहेको छ। यही अवस्था कायम रहेमा दुवै रेखा छिट्टै एकअर्कालाई काट्ने सम्भावना देखिएको छ।
प्राविधिक विश्लेषणमा ५० दिने रेखाले २०० दिने रेखालाई माथिबाट काटेर तल झरेमा त्यसलाई बजार कमजोर बन्दै गएको संकेतका रूपमा हेरिन्छ। यसले खरिदभन्दा बिक्रीको दबाब बढ्दै गएको र बजारको दिशा परिवर्तन हुन सक्ने सम्भावना देखाउने विश्लेषकहरूको भनाइ छ।
यद्यपि, प्राविधिक सूचकका आधारमा मात्र लगानी निर्णय गर्नु उपयुक्त नहुने जानकारहरू बताउँछन्। सरकारी नीति, आर्थिक गतिविधि, लगानीकर्ताको मनोविज्ञान तथा बजारसँग सम्बन्धित अन्य घटनाक्रमले पनि धितोपत्र बजारको दिशामा प्रभाव पार्ने भएकाले सबै पक्षको समग्र विश्लेषण आवश्यक हुने उनीहरूको भनाइ छ।
विश्लेषकहरूले २६ सय विन्दुलाई बजारको मनोवैज्ञानिक आधारबिन्दुका रूपमा लिँदै यस क्षेत्रमा बजारले टेवा पाउने वा थप ओरालो लाग्ने भन्ने कुरा आगामी कारोबारले स्पष्ट पार्ने बताएका छन्।













प्रतिक्रिया दिनुहोस्