मौद्रिक नीतिप्रति लगानीकर्ता निराश, नेप्से ३० अंकले घट्यो
काठमाडौंं, २४ असार । बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका लगानीकर्ता निराश भएपछि नेप्सेमा गिरावट आएको हो।
बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६२१.५९ विन्दुमा बन्द भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
यस दिन ३६२ वटा धितोपत्रको ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये २५ वटाको सेयर मूल्य बढेको छ भने २४७ वटाको घटेको छ। पाँच कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बुधबार एनएमबी डिबेन्चर ८.५० प्रतिशत–२०८७/८८ को मूल्य सर्वाधिक ५.५२ प्रतिशतले बढेको छ। उक्त डिबेन्चरको मूल्य १ हजार १४५ रुपैयाँ पुगेको छ।
त्यस्तै, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य ४.६७ प्रतिशतले बढेर १ हजार १४४ रुपैयाँ कायम भएको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य सर्वाधिक १३.४१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७७५ रुपैयाँमा झरेको छ।
त्यसैगरी, उपकार लघुवित्त को सेयर मूल्य १०.६९ प्रतिशतले घटेर प्रतिकित्ता २ हजार ८४० रुपैयाँमा सीमित भएको छ।
बुधबार सर्वाधिक कारोबार १० प्रतिशत केबिएल डिबेन्चर २०८९ को भएको छ। उक्त डिबेन्चरको प्रतिकित्ता १ हजार २९० रुपैयाँका दरले ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसको मूल्य अघिल्लो दिनको तुलनामा ०.२२ प्रतिशत घटेको हो।
सर्वाधिक कारोबार हुने दोस्रो सूचीमा ९.५ प्रतिशत एनसिसी डिबेन्चर २०८६ रहेको छ। उक्त डिबेन्चरको ४३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक घटेका छन्। जसका कारण समग्र बजार परिसूचकमा दबाब परेको हो।
समूहतर्फ जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।












प्रतिक्रिया दिनुहोस्