अब सेयर धितो कर्जा संस्थाको सबलताका आधारमा निर्धारण गरिने

काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा प्रवाह गर्ने व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ। अब धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्य मात्र आधार नबनाई सम्बन्धित संस्थाको सबलता तथा वित्तीय अवस्थाका आधारमा सेयर धितो कर्जा निर्धारण गरिने भएको छ।

हाल प्रचलित व्यवस्थाअनुसार सेयरको बजार मूल्य वा पछिल्लो १८० दिनको औसत मूल्यमध्ये जुन कम हुन्छ, त्यसलाई आधार मानेर कर्जा प्रवाह हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले सो मूल्यको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएका छन्।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जाको सुरक्षणसम्बन्धी व्यवस्थामा पनि सुधार गर्ने जनाएको छ। व्यक्तिगत जमानीका कारण असिमित दायित्व सिर्जना हुने अवस्थालाई हटाउने व्यवस्था गरिने भएको छ।

त्यस्तै, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाबाट वञ्चित हुने अवस्था न्यूनीकरण गर्न आवश्यक व्यवस्था गरिने भएको छ। रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनका लागि समेत आवश्यक नीतिगत पहल गरिने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिमा दबाबमा रहेका कर्जाको पुनरुत्थानका लागि सहजीकरण गर्ने तथा सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात लाई सहज बनाउने विशेष व्यवस्था गरिने उल्लेख छ।

राष्ट्र बैंकले वित्तीय प्रणालीलाई थप स्थिर, समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित आगामी मौद्रिक नीतिमा यस्ता सुधारका उपायहरू समेट्ने तयारी गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्