नेप्से २४ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४० करोड पुग्यो

काठमाडौ, २३ असार । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।

मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा बन्द भएको हो।

नेप्से बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

यस दिन ३५२ वटा धितोपत्रको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर खरिद–बिक्री भएको छ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

मंगलबार कालंगा हाइड्रोको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ५१६ रुपैयाँ ४० पैसा पुगेको छ।

त्यस्तै, आरबिबी फोकस ४० को मूल्य १३.८५ प्रतिशतले बढेर प्रतिइकाइ १० रुपैयाँ ३६ पैसा पुगेको छ।

यता, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य भने सर्वाधिक १३.७८ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५ हजार ८६० रुपैयाँमा झरेको छ।

मंगलबार सर्वाधिक कारोबार हुनेमा १० प्रतिशत केबिएल डिबेन्चर २०९० रहेको छ। उक्त डिबेन्चरको प्रतिकित्ता १ हजार २१५ रुपैयाँमा २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशतले घटेको हो।

त्यस्तै, १०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३ दोस्रो धेरै कारोबार हुने धितोपत्र बनेको छ। उक्त डिबेन्चरको १७ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेका छन्। सबै समूहको परिसूचक सकारात्मक बनेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो।

समूहमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्