नेप्से २६ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित
काठमाडौंं, २२ असार । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) ले घट्दै २६२७ विन्दुमा कायम भएको छ।
गत साताको अन्तिम कारोबार दिन पनि बजार ८.३० अंकले घटेको थियो। सोमबार दिनभर बजार रातो अंकमै रह्यो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित भयो। कुल ३४ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत सूचकतर्फ सबै समूहमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशतले घटेको छ। पूँजीकरणका आधारमा ठूलो कम्पनी विशाल बजारको मूल्य घट्दा समूहमा थप दबाब परेको हो।
बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य समूह ०.५२ प्रतिशतले घटेका छन्।
सोमबार ३ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको मूल्य १५ प्रतिशतले बढेको हो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ११.५५ प्रतिशत र बाराही हाइड्रोपावर ४.०२ प्रतिशतले बढेका छन्।
अर्कोतर्फ थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ। नेपाल फाइनान्स ११.६४ प्रतिशत, खानीखोला हाइड्रोपावर ९.७२ प्रतिशत र उपकार लघुवित्त ६.४५ प्रतिशतले घटेका छन्।
सोमबार धेरै कारोबार भएका कम्पनीहरूमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल र शिवम् सिमेन्ट रहेका छन्।












प्रतिक्रिया दिनुहोस्