सेयरको पुँजीगत लाभकर अन्तिम कर नै हुने, विवरण बुझाउने विकल्प करदातामैत्री बनाउन सुविधा
काठमाडौं, १९ असार । आन्तरिक राजस्व विभागले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) नै हुने व्यवस्था पुनः स्पष्ट गरेको छ। साथै, कर विवरण बुझाउने वा नबुझाउने विकल्प करदाताले रोज्न पाउने सुविधा कायम गरिएको विभागले जनाएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘परिमार्जित कर कानुन र कार्यान्वयन’ विषयक छलफलमा विभागका अधिकारीहरूले साना करदातालाई अनावश्यक प्रशासनिक झन्झट नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन्।
विभागका महानिर्देशक पदमकुमार श्रेष्ठका अनुसार व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ। उक्त करलाई अन्तिम करका रूपमा लिइने भए पनि आवश्यक परेमा कर विवरण बुझाउने सुविधा भने करदातालाई खुला राखिएको उनले स्पष्ट पारे।
विभागका निर्देशक प्रकाश पौडेलले पनि पुँजीगत लाभकर अन्तिम कर भएकाले यसबारे अन्योल नहुनुपर्ने बताउँदै करदाताले आफ्नो कारोबार र आवश्यकताअनुसार विवरण बुझाउने वा नबुझाउने निर्णय गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार सेयरधनीको मृत्युपछि हुने सेयर हस्तान्तरणलाई ‘इनभोलन्टरी डिस्पोजल’ मानी त्यसमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको छ।
यसैबीच, परिमार्जित कर कानुनअनुसार शैक्षिक संस्थाले लिने भर्ना, मासिक शुल्क तथा परीक्षा शुल्कमा ३ प्रतिशत शिक्षा सेवा शुल्क लागू हुने भएको छ। त्यस्तै निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सेवामा पनि ३ प्रतिशत सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ।
पाँचतारे होटल र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क यथावत राखिएको छ भने सुनचाँदीमा लाग्दै आएको विलासिता शुल्क हटाएर ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लगाइने भएको छ।
विभागले २०५२ सालअघिका कर बक्यौता मिनाहा गर्ने योजना पनि अघि सारेको छ। साथै विभिन्न करदातालाई लक्षित गरी १९ देखि २९ प्रकारका कर छुट तथा सहुलियतका योजना लागू गरिएको र सामुदायिक विद्यालय तथा अस्पताललाई विशेष कर सहुलियत दिइएको विभागले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्