नेप्से ८.३० अंकले घट्यो, कारोबार भने बढ्यो; तीन कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं, १९ असार । शुक्रबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा बन्द भएको हो।
बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
यसदिन कुल ३४५ वटा धितोपत्रको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भएको थियो। बजारमा १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सानिगाड हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत, स्नो रिभर्सको १४.९९ प्रतिशत र कालंगा हाइड्रोपावरको १४.९८ प्रतिशतले वृद्धि भएको छ।
यसैबीच सर्वाधिक मूल्य घट्ने कम्पनीमा अप्पर लोहोरे खोला हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य १३.६५ प्रतिशतले घटेर ४२९ रुपैयाँमा झरेको छ। त्यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य ११.२१ प्रतिशतले घटेर १ हजार ३०७ रुपैयाँमा सीमित भएको छ।
कारोबारमा ४ प्रतिशत एग्रिकल्चर बण्ड सबैभन्दा अगाडि रह्यो, जसको एक हजार रुपैयाँ अंकित दरमा ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा ११% केबिएल डिबेन्चर २०८९ रह्यो, जसको ३९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
१३ समूहगत परिसूचकमध्ये पाँच समूह बढ्दा आठ समूह घटेका छन्। वित्त समूहको परिसूचक सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ।







प्रतिक्रिया दिनुहोस्