कालंगा र सानिगाड हाइड्रोको सेयर कारोबार सुरू, पहिलो कारोबार क्रमशः रु. २९५.४० र रु. २९९.३० मा

काठमाडौं, १८ असार । कालंगा जलविद्युत् लिमिटेड र सानिगाड जलविद्युत् लिमिटेडको शेयर कारोबार आज (बिहीबार) देखि नेपाल धितोपत्र दोस्रो बजारमा औपचारिक रूपमा सुरु भएको छ।

विशेष पूर्व–खुला कारोबार सत्रमा कालंगा जलविद्युत्को शेयर प्रतिकित्ता २९५ रुपैयाँ ४० पैसा र सानिगाड जलविद्युत्को शेयर २९९ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार सञ्चालन हुनेछ।

कालंगा जलविद्युत्को शेयर ‘केएएचएल’ र सानिगाड जलविद्युत्को शेयर ‘एसजीएचएल’ सङ्केतमार्फत कारोबारका लागि खुला गरिएको छ।

दुवै कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बुधबार नेपाल धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो। कालंगा जलविद्युत्ले सर्वसाधारणका लागि निष्कासन गरेको ४९ लाख कित्ता र संस्थापक लगानीकर्ताको ९१ लाख कित्ता गरी कुल १ करोड ४० लाख कित्ता शेयर सूचीकृत गरेको छ।

त्यसैगरी, सानिगाड जलविद्युत्ले सर्वसाधारणका लागि निष्कासन गरेको ८५ लाख ५० हजार कित्ता तथा संस्थापक लगानीकर्ताको १ करोड ९९ लाख ५० हजार कित्ता गरी कुल २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत गराएको छ।

नेपाल धितोपत्र दोस्रो बजारले दुवै कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा निर्धारण गरेको थियो। कम्पनीको खुद सम्पत्तिको आधारमा पहिलो कारोबारका लागि अधिकतम तीन गुणासम्म मूल्य सीमा निर्धारण गर्ने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्