सात दिनको गिरावटपछि नेप्सेमा ४४.५९ अंकको सुधार, कारोबार ३ अर्ब ८६ करोड नाघ्यो
काठमाडौं, १७ असार । लगातार सात कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने उल्लेख्य सुधारसहित उकालो लागेको छ।
बुधबार नेप्से ४४.५९ अंकले बढेर २,६५२.९३ विन्दुमा बन्द भएको हो। परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन ३६२ वटा धितोपत्रका ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा सहभागीमध्ये २५२ कम्पनीको सेयर मूल्य बढेको, १७ कम्पनीको घटेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
मूल्य वृद्धितर्फ स्नो रिभर्स अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५२२ रुपैयाँ ३० पैसा पुगेको छ। त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य १४.२२ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता १,५५० रुपैयाँ पुगेको छ।
यता, सर्वाधिक मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रह्यो। कम्पनीको सेयर मूल्य ५.२१ प्रतिशतले घटेर प्रतिकित्ता १,८०० रुपैयाँमा झरेको छ। साथै, एनएमबी डिबेन्चरको मूल्य ४.९३ प्रतिशतले घट्दै प्रतिडिबेन्चर १,०७९ रुपैयाँ १० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रह्यो। बैंकको प्रतिकित्ता २१९ रुपैयाँमा २८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा २.५३ प्रतिशत बढी हो।
दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी रिलायन्स स्पिनिङ मिल्स रह्यो। कम्पनीको प्रतिकित्ता ३,४०० रुपैयाँमा १७ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका सबै १३ समूहको सूचक हरियो रहँदा समग्र नेप्सेमा सुधार देखिएको हो। तीमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले बढेको छ।







प्रतिक्रिया दिनुहोस्