नेप्से १४.४५ अंकले घट्दा ४ महिनाकै न्यून विन्दुमा, कारोबार ४ अर्ब ४१ करोड

काठमाडौं, १० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घट्दै २६६० अंकमा कायम भएको छ। लगातार दोस्रो दिनको गिरावटसँगै बजार चार महिनायताकै न्यून विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो। बुधबारको बन्द अंक फागुन १४ यताकै सबैभन्दा कम हो। फागुन १४ गते नेप्से २६५४ अंकमा रहेको थियो। कारोबार अवधिभर बजारमा बिक्री दबाब देखिँदा दिउँसो १ बजे नेप्से दिनकै न्यून २६३४ अंकसम्म झरेको थियो।

कारोबार रकममा सामान्य वृद्धि

बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

अधिकांश समूहमा गिरावट

फाइनान्स र व्यापार समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन्। फाइनान्स समूह ०.१९ प्रतिशत र व्यापार समूह ०.८१ प्रतिशतले बढेका छन्।

यता बैंकिङ ०.४८ प्रतिशत, विकास बैंक ०.५७ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशत, जलविद्युत् ०.६२ प्रतिशत, लगानी ०.३२ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१० प्रतिशत, माइक्रोफाइनान्स ०.३८ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत तथा अन्य समूह १.०२ प्रतिशतले घटेका छन्।

नयाँ सूचीकृत कम्पनीमा सकारात्मक सर्किट

हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावर को शेयर मूल्य १५ प्रतिशतले बढेको छ। मूल्य वृद्धिसँगै दुवै कम्पनीको शेयर प्रतिकित्ता ४५६ रुपैयाँ २० पैसामा पुगेको छ।

त्यसैगरी भुजुङ हाइड्रोपावर को शेयर मूल्य १४.६९ प्रतिशत, सीवाईसी लघुवित्त को ९.९० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्स को ५.८९ प्रतिशतले बढेको छ।

बुधबार सर्वाधिक घट्ने कम्पनीमध्ये सोपान फर्मास्युटिकल्स ५.०५ प्रतिशत र भगवती हाइड्रोपावर ३.६६ प्रतिशतले ओरालो लागे।

यी कम्पनीमा बढी कारोबार

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा अग्रस्थानमा रहे।

लगातार दोस्रो दिनको गिरावटसँगै लगानीकर्तामा सतर्कता बढेको देखिएको छ भने बजारले निकट भविष्यमा स्पष्ट दिशा लिन थप सकारात्मक संकेतको प्रतीक्षा गरिरहेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्