नेप्से २७०० वरिपरि स्थिर, बजारले न्यूनतम विन्दु बनाउँदैछ कि अझै दबाबमै?
काठमाडौं, ९असार । सेयर बजार परिसूचक नेप्से पछिल्ला पाँच कारोबार दिनदेखि २७०० विन्दुको आसपास स्थिर देखिएको छ। परिसूचकले न २७०० विन्दु पार गरेर माथिल्लो दिशा समातेको छ, न उल्लेख्य रूपमा तल झरेको छ। यस अवस्थाले बजार अल्पकालीन न्यूनतम विन्दु नजिक पुगेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
पछिल्ला १४ कारोबार दिनमा नेप्से २७८० विन्दुबाट घटेर करिब २७०० विन्दुमा झरेको छ। यस अवधिमा अधिकांश दिन बजार ओरालो लागेकाले बिक्री दबाब हाबी रहेको देखिन्छ। कुल उतारचढावमा नेप्सेले केवल ६ अंक बढाउँदा १४२ अंक गुमाएको छ।
प्राविधिक सूचकहरू पनि बजारमा अत्यधिक बिक्री भएको अवस्थातर्फ संकेत गरिरहेका छन्। १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४.५८ मा झरेको छ, जुन निकै न्यून स्तर मानिन्छ। यसले बजारमा बिक्री दबाब अत्यधिक रहेको देखाउँछ।
यद्यपि, पछिल्ला पाँच कारोबार दिनदेखि परिसूचक २७०० विन्दुको आसपास टिकिरहनुले तीव्र गिरावट रोकिएको संकेत दिएको छ। यसबाट बिक्री दबाब केही कमजोर बन्दै गएको अनुमान गर्न सकिए पनि बजारमा नयाँ लगानी भित्रिने स्पष्ट संकेत भने अझै देखिएको छैन।
खरिद–बिक्रीको अवस्था मापन गर्ने एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन (A/D) सूचक पछिल्ला आठ कारोबार दिनदेखि लगातार ऋणात्मक रहेको छ। पछिल्ला २१ दिनमा एकुमुलेसन सूचक पाँच करोड ३४ लाख र डिस्ट्रिब्युसन सूचक चार करोड ८६ लाख रहेको तथ्यांकले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ।
त्यस्तै, मुद्रा प्रवाह सूचक (Money Flow Index) २७ बाट बढेर २८ पुगेको छ। यद्यपि यो अझै न्यून स्तरमै रहेकाले बजारमा पैसाको प्रवाह स्थिर हुन थाले पनि लगानीकर्ताको खरिद उत्साह उल्लेख्य रूपमा बढ्न नसकेको संकेत मिल्छ।
विश्लेषकहरूका अनुसार बजार तीव्र गिरावटको चरणबाट स्थिरताको दिशामा अघि बढेको देखिए पनि दिगो सुधार सुरु भइसकेको पुष्टि गर्न अझै पर्याप्त आधार तयार भएको छैन। आगामी दिनमा खरिददारी बढ्नु, A/D सूचक सकारात्मक बन्नु तथा आरएसआई क्रमशः माथि उक्लिनु आवश्यक रहने उनीहरूको भनाइ छ।
अब बजारको दिशा के होला?
आगामी दिनमा नेप्सेको दिशा विभिन्न नीतिगत तथा आर्थिक कारकहरूले निर्धारण गर्ने देखिन्छ।
हालै धितोपत्र बोर्डले नयाँ अध्यक्षका रूपमा डा. गोपाल भट्ट लाई पाएको छ। पूँजी बजारसम्बन्धी अध्ययन र अनुसन्धानमा संलग्न रहेका भट्टको नेतृत्वमा बोर्डले कस्ता नीतिगत सुधारहरू अघि बढाउँछ भन्ने विषय लगानीकर्ताको चासोमा छ।
त्यसैगरी, नेपाल राष्ट्र बैंक ले केही साताभित्र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा लामो समयदेखि थन्किएको अधिक तरलता परिचालन गर्न के–कस्ता व्यवस्था गरिन्छ भन्ने विषयले पनि बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
चालु आर्थिक वर्ष समाप्त हुन लागेकाले सूचीकृत कम्पनीहरूको वार्षिक वित्तीय विवरण पनि महत्वपूर्ण बन्नेछ। विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा, लाभांश वितरण क्षमता, जलविद्युत, होटल, लगानी तथा व्यापारिक कम्पनीहरूको नाफा–नोक्सानले लगानीकर्ताको मनोविज्ञान प्रभावित पार्नेछ।
अर्कोतर्फ, बैंकहरूको ब्याजदर ऐतिहासिक रूपमा न्यून रहे पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन। केही वर्षदेखि कायम रहेको अधिक तरलताको समस्या अझै समाधान हुन नसकेको अवस्था छ। नयाँ सरकार गठनसँगै आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिए पनि त्यसको प्रभाव अर्थतन्त्रमा स्पष्ट रूपमा देखिन सकेको छैन।
यस कारण उद्योग, व्यवसाय र लगानी क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न सरकारले चाल्ने कदमहरू पनि आगामी दिनमा सेयर बजारको दिशानिर्धारण गर्ने महत्वपूर्ण आधार बन्ने देखिन्छ।
समग्रमा, नेप्से तत्काल ठूलो गिरावटको जोखिमबाट केही हदसम्म बाहिरिएको संकेत देखिए पनि बजारले दिगो सुधारको यात्रा सुरु गरेको निष्कर्ष निकाल्न अझै केही समय पर्खनुपर्ने अवस्था रहेको विश्लेषण गरिएको छ।









प्रतिक्रिया दिनुहोस्