सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरको आइपिओ बिक्री खुला
काठमाडौं, असार ३ — माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि आज (बुधबार) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ।
यसअघि ३४ हजार ४०० कित्ता सेयर कर्मचारीहरूका लागि तथा ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
अब बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
लगानीकर्ताहरूले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म सम्पूर्ण सेयरका लागि पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १७ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।
कम्पनीलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
त्यस्तै, सिडिएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।













प्रतिक्रिया दिनुहोस्