नेप्से ४ अंकले घट्यो, कारोबार बढ्यो; सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरमा उछाल
काठमाडौं २९ जेष्ठ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से सामान्य गिरावटसहित बन्द भएको छ। नेप्से ४ अंकले घटेर २,७२४.०३ विन्दुमा रोकिएको हो।
बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
यस दिन कुल ३४२ कम्पनीका ९८ लाख २४ हजार ८६८ कित्ता सेयर किनबेच भएका छन्। तीमध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने १३ कम्पनी स्थिर रहेका छन्।
उच्च वृद्धिदरका कम्पनीमध्ये सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ ७० पैसा पुगेको छ भने एपोलो हाइड्रोपावरको मूल्य ४५५ रुपैयाँ ६० पैसा कायम भएको छ।
यसैबीच, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको मूल्य १०.६६ प्रतिशतले घट्दै प्रतिकित्ता १,०६६ रुपैयाँमा झरेको छ। त्यस्तै सिटिजन बैंक डिबेन्चरको मूल्य ८.२८ प्रतिशतले घटेर १,१९२ रुपैयाँ ३० पैसामा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर ६५९ रुपैयाँ दरमा २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा सिटी होटल रह्यो, जसको ४३० रुपैयाँ १० पैसामा २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो।
समूहगत सूचकतर्फ १३ मध्ये ४ समूहमा वृद्धि देखिएको छ भने बाँकी ९ समूहमा गिरावट आएको नेप्सेले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्