उच्च प्रतिशेयर आम्दानी भएका निर्जीवन बीमा कम्पनीमा नेको र प्रभु अगाडि

जेष्ठ, २९ काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन करिब एक महिना बाँकी रहँदा सार्वजनिक भइरहेका तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूको वित्तीय अवस्थाबारे स्पष्ट संकेत दिन थालेको छ। चैत मसान्तसम्मको विवरणअनुसार निर्जीवन बीमा क्षेत्रमा उच्च प्रतिशेयर आम्दानी भएका कम्पनीमध्ये नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स अग्रस्थानमा देखिएका छन्।

नेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ

२०५२ सालमा सूचीकृत नेको इन्स्योरेन्सको सेयर मूल्य हाल ६५२ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले पछिल्ला पाँच वर्षमा वार्षिक औसत १३.८१ प्रतिशत लाभांश वितरण गरेको छ।

चैत मसान्तसम्म कम्पनीको बीमाशुल्क आम्दानी २ अर्ब १६ करोड रुपैयाँबाट घटेर २ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि २२ करोड रुपैयाँबाट घटेर १४ करोड रुपैयाँमा झरेको छ।

बीमा दाबी भुक्तानी भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको दाबी भुक्तानी यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। दाबी भुक्तानी बढेसँगै कम्पनीको खुद नाफा ३६ करोड रुपैयाँबाट घटेर १६ करोड रुपैयाँमा सीमित भएको छ।

नाफा घटे पनि कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ, जुन निर्जीवन बीमा क्षेत्रकै उच्चमध्येमा पर्छ। कम्पनीको प्रतिशेयर खुद सम्पत्ति मूल्य २२३ रुपैयाँ रहेको छ।

दाबी प्रक्रियामा रहेका तथा भुक्तानी हुन बाँकी रकम ७९ करोड रुपैयाँबाट बढेर ९३ करोड रुपैयाँ पुगेको छ। यद्यपि कम्पनीको सोल्भेन्सी दर ५ प्रतिशत रहेको छ, जुन नियामकीय न्यूनतम सीमाभन्दा माथि हो।

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो

२०६४ सालमा सूचीकृत प्रभु इन्स्योरेन्सको सेयर मूल्य हाल ७०३ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले पछिल्ला पाँच वर्षमा वार्षिक औसत १०.३४ प्रतिशत लाभांश वितरण गरेको छ।

चैत मसान्तसम्म कम्पनीको बीमाशुल्क आम्दानी १ अर्ब १६ करोड रुपैयाँबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि ९ करोड रुपैयाँबाट घटेर ८ करोड रुपैयाँमा सीमित भएको छ।

बीमा दाबी भुक्तानी २९ करोड रुपैयाँबाट बढेर ३६ करोड रुपैयाँ पुगे पनि कम्पनीको खुद नाफा २० करोड रुपैयाँबाट बढेर २१ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७० पैसाबाट बढेर १६ रुपैयाँ ५८ पैसा पुगेको छ।

कम्पनीको प्रतिशेयर खुद सम्पत्ति मूल्य २०९ रुपैयाँ रहेको छ। दाबी प्रक्रियामा रहेका तथा भुक्तानी हुन बाँकी रकम २३ करोड रुपैयाँबाट घटेर १४ करोड रुपैयाँमा झरेको छ।

प्रभु इन्स्योरेन्सको सोल्भेन्सी दर ५.४८ प्रतिशत रहेको छ। यद्यपि कुल बीमालेख संख्या ९४ हजारबाट घटेर ८२ हजारमा झरेको छ। तर नवीकरण भएका बीमालेखको संख्या भने बढेको देखिन्छ।

सेयर कारोबारमा अझै दबाब

प्राविधिक विश्लेषणअनुसार दुवै कम्पनीको सेयर हाल घट्दो प्रवृत्तिमा देखिएको छ। कारोबारको औसत प्रवृत्तिले सेयर संकलन भइरहेको संकेत गरे पनि बलियो खरिद चाप भने देखिएको छैन।

बजार विश्लेषकहरूका अनुसार आर्थिक वर्षको अन्त्यमा सार्वजनिक हुने वार्षिक वित्तीय विवरण र आगामी बजार प्रवृत्तिले यी कम्पनीहरूको सेयर मूल्यको दिशा निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्