सईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई नीलकण्ठ नगरपालिको सम्मान, जनही ५० हजार पुरस्कार

काठमाडौं । नीलकण्ठ नगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ।

नीलकण्ठ नगरपालिकाले २०८१ सालको एसईईमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र मालासहित सम्मान गरेको हो।

नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सम्मान समारोहमा निजी तथा सामुदायिक विद्यालयका ती मेधावी विद्यार्थीहरूलाई  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर सम्मानित हुनुहुने विद्यार्थीहरु नीलकण्ठ बालमन्दिर माविकी छात्रा सन्ध्या तिमल्सिना, सुनौलो भैरवी मावि की प्रसंशा श्रेष्ठ, न्यु किवो बोडिङ स्कुलको समिर भण्डारी, न्यु किवो बोडिङ स्कुलको आयुश शर्मा, चिल्ड्रेनपार्क का प्रिसिला तामाङ रहेका छन् ।

सम्मानित विद्यार्थीमध्ये नीलकण्ठ बालमन्दिर माविकी छात्रा सन्ध्या तिमल्सिनाले यस्तो सम्मानले आफूहरूलाई अझ मेहनत गर्न प्रेरणा दिएको बताइन्। “अबको लक्ष्य झनै ठुलो छ। यस्तो सम्मानले पढाइमा अझ ध्यान दिन प्रोत्साहन मिलेको छ,” उनले भनिन्।

सम्मान कार्यक्रममा एसईईमा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि चार लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ।

यस वर्ष धादिङ जिल्लाभर ८ जना विद्यार्थीले ४.०० जिपिए ल्याएका थिए, जसमध्ये ५ जना नीलकण्ठ नगर क्षेत्रभित्रका विभिन्न विद्यालयबाट रहेकाले नगरपालिकाले यस उपलब्धिलाई “शैक्षिक सफलता” को नमुना मानेको छ।

कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा क्षेत्रमा लगानी गर्न नगरपालिकाले कहिल्यै पछि नहट्ने स्पष्ट पारे। उनले भने, “नतिजा देखाउनुस्, पैसा लिन आउनुस्। त्यसै पैसालाई विद्यालयको सुधार र विद्यार्थीको भविष्य निर्माणमा लगानी गर्नुस्।”ढुंगानाले विद्यालयभित्रको स्वस्थ आन्तरिक प्रतिस्पर्धालाई शैक्षिक गुणस्तर वृद्धिको मुख्य आधार मानेका छन्। “नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न कहिल्यै डराउँदैन,” उनले जोड दिए।

एसईईमा मात्र नभई अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो। नगरपालिकाले आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्