नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ९० करोडमा सीमित
जेष्ठ, २८, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ।
बजारसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसदिन ३५० वटा धितोपत्रका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ८२ वटाको सेयर मूल्य बढ्दा १७८ वटाको घटेको छ भने १३ वटाको मूल्य स्थिर रहेको छ।
मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ ४० पैसा पुगेको छ। त्यस्तै, एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९७ प्रतिशतले वृद्धि हुँदै ३९६ रुपैयाँ २० पैसामा पुगेको छ।
यता, सर्वाधिक मूल्य घट्ने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रह्यो। बैंकको सेयर मूल्य १३.५१ प्रतिशतले घटेर प्रतिकित्ता ८७७ रुपैयाँ ९० पैसामा झरेको छ। प्रभु बैंक डिबेन्चरको मूल्य पनि ५.८० प्रतिशतले घट्दै प्रतिडिबेन्चर १ हजार ५५ रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा सिटी होटल अग्रस्थानमा रह्यो। कम्पनीको २३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये दुई समूहको परिसूचक बढ्दा ११ समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।













प्रतिक्रिया दिनुहोस्