सामान्य सुधारसँगै नेप्से हरियो, कारोबार रकम घट्यो

जेष्ठ, २७ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले बढ्दै हरियो संकेतमा बन्द भएको छ। नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको हो।

यद्यपि, कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब २९ करोड रुपैयाँमा सीमित रह्यो।

यस दिन ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच भएका छन्। कारोबार भएका कम्पनीमध्ये १२७ वटाको सेयर मूल्य बढ्दा १३४ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

सेयर मूल्य वृद्धितर्फ कालिन्चोक हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता १,१५२ रुपैयाँ पुगेको छ।

त्यस्तै सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर को सेयर मूल्य पनि १४.९८ प्रतिशतका दरले वृद्धि भएको छ।

मूल्य घट्ने सूचीमा प्रभु बैंक डिबेन्चर शीर्ष स्थानमा रह्यो। यसको मूल्य ८.७१ प्रतिशतले घटेर प्रतिकित्ता १,१३२ रुपैयाँमा झरेको छ। त्यस्तै उपकार लघुवित्त को मूल्य ८.३४ प्रतिशतले घटेर २,९७९ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। कम्पनीको सेयर ४०५ रुपैयाँमा कारोबार हुँदै करिब २८ करोड रुपैयाँ बराबरको किनबेच भएको छ।

त्यसपछि सप्तकोशी डेभलपमेन्ट बैंक को २० करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ७ समूहमा वृद्धि हुँदा ६ समूहमा गिरावट आएको छ। वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्