लगातार दोस्रो दिन घट्यो सेयर बजार, कारोबार रकम बढ्यो
जेष्ठ, २२ काठमाडौं । अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार पनि घटेर बन्द भएको छ। आज बजार परिसूचक ११.३७ अंकले घटेको हो।
दिनभर बजारले कुनै पनि समयमा सकारात्मक लय समात्न नसकेको नेप्सेले जनाएको छ। कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यद्यपि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज करिब ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ। यससँगै फाइनान्स सूचक चैत १५ यताकै उच्च विन्दुमा पुगेको छ। होटल तथा पर्यटन ०.०५ प्रतिशत र निर्जीवन बीमा ०.०६ प्रतिशतले सामान्य वृद्धि भएका छन्।
तर अन्य अधिकांश समूह घटेका छन्। बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार समूह ०.२३ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीमध्ये कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै उपकार लघुवित्तको ९.७१, बेस्ट फाइनान्सको ७.५५ र सिटी होटलको ७.०६ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ होटल फरेस्ट इनको ४.२२, माबिलुङ इनर्जीको ४.१७, रिजलाइन इनर्जीको ३.८३ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २.९९ प्रतिशतले गिरावट आएको छ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेका छन्।




प्रतिक्रिया दिनुहोस्