माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आइपीओ असार ३ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

जेष्ठ, २१ काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गर्न लागिएको हो।

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये स्थानीय बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार कित्ता, कर्मचारीका लागि ३४ हजार ४०० कित्ता तथा सामूहिक लगानी कोषका लागि ८६ हजार कित्ता सेयर बाँडफाँट गरिसकिएको छ।

अब बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा आवेदन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्