बजेटको प्रभाव : निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, समूहगत सूचक ३.३७ प्रतिशतले उकालो
जेष्ठ २०, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सवारी साधनको तेस्रो पक्ष बीमाको बीमां क रकम दोब्बर बनाउने घोषणा गरेपछि बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको छ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६६ अंकले वृद्धि हुँदा निर्जीवन बीमा समूहको परिसूचक भने ३.३७ प्रतिशतले बढेको छ। बजारका अन्य समूहको तुलनामा निर्जीवन बीमा क्षेत्रको उल्लेखनीय वृद्धि देखिएको हो।
सरकारले आगामी बजेटमार्फत सवारी साधनको तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याउने व्यवस्था गरेको छ। यसबाट निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय र प्रिमियम संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यही सम्भावनाका कारण लगानीकर्ताहरूले निर्जीवन बीमा कम्पनीका सेयरमा चासो देखाएको विश्लेषण गरिएको छ।
बजेटले निर्जीवन बीमा क्षेत्रलाई थप लाभ पुग्ने अन्य व्यवस्थासमेत अघि सारेको छ। सरकारले दुर्घटना बीमा, घातक रोग बीमा तथा ढुवानी सेवा बीमालाई अनिवार्य गर्ने घोषणा गरेको छ।
यी व्यवस्थाले बीमाको पहुँच विस्तार हुनुका साथै निर्जीवन बीमा कम्पनीहरूको व्यवसायिक दायरा र आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बजेटमा समेटिएका नीतिगत व्यवस्थाका कारण आगामी दिनमा निर्जीवन बीमा क्षेत्रको कारोबार थप विस्तार हुने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्